images
images
  • युरोपेली संस्थामा एआईको प्रयोग व्यापक, तर जवाफदेहिता र अडिटको तयारी कमजोर

    काठमाडौं – युरोपेली संस्थाहरूमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग व्यापक बन्दै गए पनि त्यसको जवाफदेहिता, अनुगमन र अडिट गर्ने तयारी कमजोर रहेको एक अध्ययनले देखाएको छ । मानव संसाधन कम्पनी एन्टल र प्रविधि कम्पनी माकोल्याबले संयुक्त रूपमा गरेको ‘एआई रेडिनेस इन प्राक्टिस’ अध्ययनमा सहभागी ४० उत्तरदातामध्ये ८५ प्रतिशतले आफ्नो संस्थाले केही क्षेत्रमा वा व्यापक रूपमा एआई प्रयोग गरिरहेको बताएका छन् । तर आफ्नो संस्थाको एआई परिपक्वता उच्च रहेको बताउने उत्तरदाता तीनमध्ये एक जना मात्र छन् ।

    अध्ययनअनुसार १० मध्ये नौ उत्तरदाताले आफ्नो संस्थामा कुनै न कुनै प्रकारको एआई शासन व्यवस्था रहेको बताएका छन् । तर एआईले दिएको नतिजा अडिटका क्रममा व्याख्या गर्न, पुनः प्रस्तुत गर्न र त्यसको बचाउ गर्न सकिनेमा पूर्ण सहमत हुने उत्तरदाता २० प्रतिशत मात्रै छन् । थप ४० प्रतिशतले यसमा केही हदसम्म सहमति जनाएका छन् ।

    प्रतिवेदनले यी नतिजा उत्तरदाताको आफ्नै मूल्याङ्कन र आत्मविश्वासमा आधारित रहेको तथा स्वतन्त्र रूपमा प्रमाणित नभएको स्पष्ट पारेको छ । अध्ययनमा वित्तीय सेवा क्षेत्रका उत्तरदाताको हिस्सा १८ प्रतिशत रहे पनि उक्त क्षेत्रको नतिजा छुट्टै सार्वजनिक गरिएको छैन ।

    सर्वेक्षणमा सबैभन्दा धेरै ३८ प्रतिशत उत्तरदाताले मानव निगरानीमा एआई सञ्चालन भइरहेको बताएका छन् । आगामी दुई वर्षभित्र एआईको स्वायत्तता बढ्ने अपेक्षा गर्ने उत्तरदाता ९३ प्रतिशत छन् । तर १५ प्रतिशतले एआईले दिने नतिजाको जवाफदेहिता कसको हुने भन्ने स्पष्ट नभएको बताएका छन् ।

    एआईको अनुगमन, डेटाको गुणस्तर र समस्या पहिचानसम्बन्धी प्रश्नमा करिब चारमध्ये एक उत्तरदाताले आफूलाई जानकारी नभएको बताएका छन् । एन्टलले यसलाई सम्बन्धित क्षमता संस्थामा नभएको प्रमाणका रूपमा नभई संस्थाभित्र त्यसबारे जानकारी र निगरानीको अवस्था समान नरहेको संकेतका रूपमा व्याख्या गरेको छ ।

    आगामी २४ महिनाका लागि लगानीका शीर्ष तीन प्राथमिकतामध्ये १० मध्ये छ उत्तरदाताले एआई एजेन्टलाई समावेश गरेका छन् । तर एआई प्रणालीको अवलोकनीयता (अब्जर्भेबिलिटी) र अनुगमनलाई प्राथमिकतामा राख्ने उत्तरदाता आठ प्रतिशत मात्रै छन् । प्रतिवेदनले यी प्राथमिकताले वास्तविक लगानी वा खर्चको अवस्था भने नदेखाउने उल्लेख गरेको छ।

    माकोल्याबका क्लाउड तथा पूर्वाधार सेवा प्रमुख टोमाश पोल्केका अनुसार धेरै संस्थामा एआई प्रणालीको अवलोकनीयता अझै प्रतिक्रियात्मक अवस्थामा छ । प्रणालीमा समस्या आएपछि वा प्रयोगकर्ता प्रभावित भएपछि मात्र संस्थाहरू सक्रिय हुने गरेको उहाँको भनाइ छ ।

    एन्टलको ‘रेक्स’का उत्पादन व्यवस्थापक करोल वासाकले एआईले डेटामा रहेका कमजोरी र लामो समयदेखि अभ्यासमा रहेका पूर्वाग्रहसमेत सिकेर दोहोर्‍याउन सक्ने बताउनुभएको छ । उनका अनुसार स्पष्ट र प्रभावकारी मूल्याङ्कन मापदण्डले एआईले गरेको निर्णयको कारण बुझ्न तथा एउटै समस्या दोहोरिएको अवस्थामा त्यसको पहिचान गर्न सहयोग पुर्‍याउँछ। प्रतिवेदनले कर्जा तथा बीमा जोखिम मूल्याङ्कनमा प्रयोग हुने निर्णयका मापदण्डलाई समेत नियमित समीक्षाको दायरामा राख्नुपर्ने सुझाव दिएको छ ।

    अध्ययन शृंखलाको ‘एआई गभर्नेन्स एन्ड डेटा सोभरेन्टी’ प्रतिवेदनले एआईसम्बन्धी नीतिलाई व्यवहारमा लागू गर्न सकिने नियन्त्रण प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ । यसमा युरोपेली संघको एआई ऐन, एनआईएस२, जीडीपीआर तथा वित्तीय संस्थाका लागि लागू हुने डिजिटल परिचालन लचिलोपन ऐन (डोरा) को सन्दर्भ उल्लेख गरिएको छ ।

    प्रतिवेदनअनुसार कर्मचारीले ग्राहकका इमेल, सम्झौतापत्र वा सोर्स कोड बाह्य एआई सेवामा प्रविष्ट गर्दा परम्परागत सूचना वर्गीकरण प्रणालीले त्यसलाई प्रभावकारी रूपमा समेट्न नसक्ने जोखिम रहन्छ । यसले संस्थाको गोपनीयता र डेटा सुरक्षामा चुनौती थप्न सक्छ ।

    माकोल्याबका साइबर सुरक्षा आर्किटेक्ट मासिएय ग्रालाले कार्यान्वयनमा नआएको नीतिको अवस्थालाई गति सीमा तोकिएको सूचना राखेर गति मापन गर्ने क्यामेरा नराखिएको अवस्थासँग तुलना गर्नुभएको छ । उहाँका अनुसार नीति बनाउनु मात्रै पर्याप्त हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने अनुगमन र नियन्त्रण संयन्त्र पनि आवश्यक हुन्छ ।

    शृंखलाको ‘अ न्यु वे अफ वर्किङ’ प्रतिवेदनले कम जोखिम भएका काम स्वचालित गर्न, उच्च प्रभाव पार्ने निर्णयमा मानवीय विवेक कायम राख्न र सम्पूर्ण प्रक्रियाको अडिट ट्रेल सुरक्षित राख्न सुझाव दिएको छ । एआईबाट मानिसमा काम हस्तान्तरण गर्दा सम्बन्धित व्यक्तिलाई पर्याप्त जानकारी र सन्दर्भ उपलब्ध गराउनुपर्ने तथा आवश्यक परे प्रक्रिया रोक्ने अधिकारसमेत हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    अध्ययनले एआईको स्वायत्तता विस्तार गर्नुअघि स्पष्ट व्यावसायिक लाभ देखिने एउटा प्रक्रिया छनोट गरी त्यसको सूचना, नियम र जिम्मेवारी निर्धारण गर्न सुझाव दिएको छ । साथै, एआईले दिएको नतिजा पुनःनिर्माण गर्न र त्यसको निर्णय प्रक्रिया अडिट गर्न सकिने क्षमता परीक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

    माकोल्याबका डेटा तथा एआई सेवा प्रमुख जेर्जी भिस्नियेस्कीका अनुसार एआईको स्वायत्तता बढ्दै जाँदा त्यसलाई मानिसले अवलोकन, नियन्त्रण र अडिट गर्न सक्ने व्यवस्था पनि समानान्तर रूपमा बलियो बनाउन आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images