काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । रिटको सुनुवाइका लागि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा–सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त निवेदन कात्तिक २० गते दर्ता भएको थियो। तिहार बिदापछि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई मंसिर ७ गते छलफलका लागि बोलाएको थियो ।
तर, मंसिर ४ गते नवनियुक्त आईजीपी केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि मंसिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले प्राविधिक कारण देखाउँदै पुनः म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए ।
सोही प्रतिबद्धताअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाउन आदेश दिँदै विषयको संवेदनशीलतालाई ध्यानमा राखेर प्राथमिकताका साथ बुधबार पेसी तोक्न निर्देशन दिएको थियो ।
कार्कीले रिटमा आफूलाई पदबाट हटाउने कात्तिक १८ गतेको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न र केसीलाई आईजीपी नियुक्त गर्नेलगायतका निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्। साथै, आफ्नो निर्धारित कार्यकालभरि प्रहरी महानिरीक्षकका रूपमा काम गर्न दिन परमादेश जारी गर्न र मागको टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश दिनसमेत उनले माग गरेका छन् ।






















