रौतहट– पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगातार जित्दै आएको रौतहट–१ मा यसपटक कडा चारपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
अघिल्लो चुनावमा नेपालले कांग्रेससँग गठबन्धन गरी ३३ हजारभन्दा बढी मत ल्याएर जितेका थिए भने एमालेका अजयकुमार गुप्ता दोस्रो भएका थिए ।
यसपटक एमालेले पुनः गुप्तालाई नै उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसबाट हालै प्रवेश गरेका अनिलकुमार झा र जनता समाजवादी पार्टीका योगेन्द्रराय यादव नेपालका मुख्य चुनौतीकर्ताका रूपमा उभिएका छन् ।
झालाई जातीय आधारको मत समर्थन रहने आकलन गरिएको छ भने यादव स्थानीय विकास र जनसम्पर्कका कारण बलिया मानिन्छन् ।
यस क्षेत्रमा १ लाख ८ हजारभन्दा बढी मतदाता छन् र १८ दलका उम्मेदवार तथा २१ स्वतन्त्र गरी ३९ जना प्रतिस्पर्धामा छन् ।
रास्वपाबाट राजेशकुमार चौधरी, राप्रपाबाट मदन साह, जनमतबाट देवेन्द्र मिश्रलगायत अन्य दलका उम्मेदवार पनि मैदानमा छन् ।
स्वतन्त्रतर्फ पनि ठूलो संख्या देखिन्छ ।
इतिहास हेर्दा २०४८ र २०५१ मा कांग्रेसको प्रभाव रहेको यो क्षेत्रमा २०५६ देखि माधवकुमार नेपालको वर्चस्व देखियो ।
२०६४ मा स्वतन्त्र उम्मेदवार बबन सिंह विजयी भए भने २०७० मा नेपाल पुनः निर्वाचित भए ।
२०७४ मा भने राष्ट्रिय जनता पार्टीका अनिलकुमार झा विजयी भएका थिए ।
नेपाललाई पतञ्जली जग्गा प्रकरणले अदालतसम्म पुग्नुपरेको छ भने मुद्दा अझै टुंगिएको छैन ।
उनले चुनाव जिते पनि संसद्मा छिर्न पाउने छैनन् ।
यदि मुद्दाको छिनोफानो लागे र सफाइ पाए भावी प्रधानमन्त्रीको रेसमा उनी पनि छन् ।
यद्यपि नेकपाले भने कसैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन ।
कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।























