काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदार अहिले संसदीय निर्वाचनमा आठौँ पटक प्रतिस्पर्धामा छन् । २०४८ देखिका प्रत्येक निर्वाचनमा उनी सुनसरी जिल्लाको उही क्षेत्रबाट निरन्तर उम्मेदवार हुँदै आएका छन् । २०७९ मात्र हार व्यहोरे ।
उनले जीवनमा झेलेका चुनावमध्ये २०४३ को जिल्ला पञ्चायतको सभापति पराजित भएका थिए । संसदीय निर्वाचनमा अघिल्लो पटक हारे । किनभने, उनीमाथि भ्रष्टाचार मुद्दाको दाग थियो । यसचोटि मुद्दाको दाग पन्छाउँदै र अघिल्लो हारको हिसाब मिलाउँदै मैदानमा छन् ।
नेपालको संसदीय व्यवस्थाको सबभन्दा बढी लाभ लिने नेतामा पर्छन् उनी । २०४८ मा सुनसरीको तत्कालीन क्षेत्र नं. २ बाट एमालेकी लीला श्रेष्ठ सुब्बालाई चुनाव हराए । सोही कार्यकालमा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाए । त्यसयता १२ पटक मन्त्री बने ।
२०७६ माघ २२ मा ललिता निवास प्रकरणमा अख्तियारले उनीसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको यात्रामा विराम लाग्यो । एकपछि अर्को सरकारमा मन्त्री बन्ने श्रृङ्खला अवरुद्ध भयो ।
२०७९ को निर्वाचनमा एमालेकी भगवती चौधरी ४०७८८ मतका साथ निर्वाचित हुँदा उनले ३५६०० मत पाए । ५१८८ को उक्त अन्तरलाई घटाउनु अहिलको चुनावमा उनको मुख्य चुनौती बनेको छ ।
त्यसमाथि भ्रष्टाचार मुद्दामा उनले सफाई पाइसके । तर, प्रतिस्पर्धीहरुले अहिले पनि उनलाई ‘भ्रष्टाचारी’ भन्न छाडेका छैनन् । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा दायर भएको मुद्दामा विशेष अदालतले २०८० फागुन ३ मा उनलाई सफाई दिएको थियो ।
यद्यपि, उक्त आदेश विरुद्ध अख्तियारले २०८० फागुन २० मा सर्वोच्च अदालतमा पुनरवलोकन रिट दायर गरेको छ ।
हारको हिसाब
गच्छदार यसपटक चुनावको तयारीमा मसिनोसँग जुटेका छन् । प्रतिस्पर्धी भगवती चौधरीलाई एमालेको एउटा पंक्तिले पहिलाजस्तो साथ दिएको छैन । उनी जिल्लाका नेता तथा पूर्वमन्त्री भीम आचार्य मार्फत तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रभावित पारेर पहिलो संविधानसभामा समानुपातिक सांसद भएकी थिइन् ।
सोही कार्यकालमा राज्य मन्त्री भइन् । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेरै लागेकी छन् । एमालेको ११ औँ महाधिवेशनमा जिल्लाका ‘राम्रा’ नेतालाई निषेध गर्ने र ओलीका ‘भित्रिया’ लाई केन्द्रमा जिताउने भूमिकाको योजनाकार नै मानिएका कारण अहिले ओली इतरका सुनसरी एमालेहरू उनका विरुद्धमा छन् ।
यसको लाभ गच्छदारले लिँदैछन् ।
गच्छदार ती क्षेत्रमा आफ्नो मत सुरक्षाका निम्ति रणनीतिक तयारीमा जुटेका छन् । एमाले केन्द्रीय सदस्य तैयव हुसेनको असन्तुष्टिका कारण खनार क्षेत्रमा एमालेको मुस्लिम मतमा क्षति हुने अनुमानका साथ गच्छदार त्यहाँ पनि आफ्ना रणनीतिक गतिविधि बढाइरहेका छन् ।
उनले २०७४ को निर्वाचनमा गच्छार ३२१ मतान्तरमा विजयी भएका थिए । अर्थात्, उनको मतमा त्यहीबेलादेखि क्षति शुरु भएको हो ।
गच्छदारको मन्त्री यात्रा
२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बनिसकेका छन्
२०४८ सालमा सञ्चार राज्यमन्त्री,
२०५२ निर्माण तथा यातायात मन्त्री,
२०५४ निर्माण तथा यातायात मन्त्री,
२०५५ निर्माण तथा यातायात मन्त्री,
२०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री,
२०५६ जलस्रोत मन्त्री,
२०५८ जलस्रोत मन्त्री,
२०६५ भौतिक योजना तथा निर्माण मन्त्री,
२०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री,
२०६८ उपप्रधान तथा गृहमन्त्री,
२०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री,
२०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री























