images
images
  • भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको चेतावनी

    काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ ।

    बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै राजनीतिक दल वा उम्मेदवारलाई होच्याउने, भ्रम सिर्जना गर्ने श्रव्य, श्रव्य दृष्य सामग्री उत्पादन, प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न–नगराउन राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूमा अनुरोध गरेको हो ।

    व्यक्तिको चरित्रहत्या हुने, घृणा फैलाउने, सामाजिक सद्भाव बिथोल्ने वा निर्वाचनको स्वच्छता प्रभावित गर्ने, अमर्यादित व्यवहार गर्ने विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण नगर्न–नगराउन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

    कृतिम प्रविधिको प्रयोग गरी निर्माण गरिएका श्रव्य तथा श्रव्यदृश्य सामग्री डीपफेक, फेक आईडीमार्फत प्रकाशन तथा प्रसारण गरी मतदातालाई भ्रमित नगर्नरनगराउन तथा सामाजिक सञ्जालमा पोष्ट भएका भ्रमपूर्ण र मिथ्या सूचना तथा सामग्रीलाई लाइक, शेयर, ट्याग वा कमेन्ट नगर्न-नगराउन बोर्डले सबैमा अनुरोध गरेको छ ।

    कुनै राजनीतिक दल तथा उम्मेदवारप्रति लक्षित गरि भ्रम श्रृजना गर्ने खालका पर्चा, पम्प्लेट, पोष्टर, व्यानर तथा अन्य प्रकारका सामग्री उत्पादन, वितरण तथा प्रर्दशन नगर्नरनगराउन तथा भ्रमपूर्ण सूचना, विज्ञापन वा प्रचार सामग्री कुनैपनि माध्यममा प्रकाशन, प्रसारण वा प्रर्दशन भए गरेको पाइएमा विज्ञापन बोर्डमा जानकारी गराउन बोर्डले भनेको छ ।

    आचारसंहिता विपरीतका कुनै कार्य गरेको पाइएमा विज्ञापन, विज्ञापन नियमावली, निर्वाचन आचारसंहिता, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, विपरीत कुनैपनि गतिविधि भए गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।

    विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम श्रृजना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गरि मतदातालाई झुक्याउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

    सामाजिक सञ्जाललगायत अन्य माध्यमको प्रयोग गरी कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम श्रृजना गर्ने जस्ता कार्य भईरहेको र त्यसबाट मतदातामा भ्रम श्रृजना हुने गरेको गुनासो आईरहेको बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचनको समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानविन र कारबाही गर्ने सहमति भइ बोर्डले विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको पनि जानकारी गराएको छ ।

    विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनैपनि गतिविधि भए/गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images