काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो ।
यो रिट युवराज पौडेल (सफल)ले दुई वर्षअघि दायर गरेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदर गरी मुद्दा चलाउन आदेश माग गरिएको छ ।
यसअघि सर्वोच्चले तीन पटक फाइल झिकाउने आदेश दिइसकेको छ ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ मा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
पौडेलले लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली पासपोर्ट लिएको राहदानी ऐन विपरीत भएको जिकिर गरेका छन् ।
साथै, अध्यागमन विभागबाट राहदानी प्रयोगसम्बन्धी विवरण झिकाउन र अन्तिम टुंगो नलागेसम्म राजनीतिक अधिकार प्रयोगमा रोक लगाउन अन्तरिम आदेश मागसमेत गरिएको छ ।























