काठमाडौं– इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् ।
इरान वरिपरि अमेरिकी सैन्य गतिविधि बढिरहेका बेला खामेनीको यस्तो अभिव्यक्ति आएको हो ।
तस्निम समाचार संस्थाका अनुसार उनले अमेरिकाको धम्कीबाट इरान नडराउने पनि बताएका छन् ।
इरानको परमाणु कार्यक्रम र सरकारविरोधी प्रदर्शनमाथिको दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको चेतावनी दिँदै आएका छन्, जसले खाडी क्षेत्रमा तनाव बढाएको छ ।
यसबीच नेपाल सरकारले आफ्ना नागरिकलाई इरान नजान र त्यहाँ रहेका नेपालीलाई फर्किन ट्राभल एडभाइजरी जारी गरेको छ ।
तनावबीच कूटनीतिक पहल पनि जारी रहेको बताइएको छ ।
कतारले वार्ताका लागि पहल गरिरहेको मिडिया रिपोर्टहरू आएका छन् ।
ट्रम्पले इरानबारे गम्भीर छलफल भइरहेको बताएका छन् भने इरानी विदेशमन्त्री अब्बास अरागचीले सहमति नजिक पुग्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले मिडियामा देखिएको युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको प्रक्रिया अघि बढिरहेको जनाएका छन्, तर छलफलको स्तर र स्वरूप भने अझै स्पष्ट छैन ।


विश्व खबर 



















