images
images
  • पश्चिमी वायुको प्रभाव कायमै : तराईमा हुस्सु–हिमाली क्षेत्रमा हिमपात

    काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार तराईका विभिन्न स्थान तथा उपत्यकाहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाले आगामी तीन दिनसम्म देशका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ ।

    यसका कारण ती क्षेत्रहरूमा चिसो बढ्ने, दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने चेतावनी दिइएको छ ।

    आज (माघ १९ गते)को पूर्वानुमान

    आज दिउँसो तराईका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ भने हिमाली भू–भागमा सामान्य बदली रहनेछ ।

    हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ ।

    राति तराईका थोरै स्थानमा हुस्सु रहने र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    भोलि (माघ २० गते)को अवस्था

    भोलि देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम हिमपात तथा वर्षा हुन सक्ने सम्भावना छ ।

    साथै ती प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

    पर्सि (माघ २१ गते)को अवस्था

    माघ २१ गते तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने र एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

    महाशाखाले नागरिकलाई नियमित अद्यावधिक मौसमी सूचनामा ध्यान दिन आग्रह गरेको छ ।

    विभागले मौसम पूर्वानुमान बुलेटिन हरेक दिन बिहान ८ बजे र साँझ ६ बजे अद्यावधिक गर्ने तथा तराई क्षेत्रको हुस्सु/कुहिरो तथा शीतलहरसम्बन्धी बुलेटिन बिहान ९ः३० बजे जारी गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images