images
images
  • खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

    काठमाडौ । राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेको छ ।

    राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले)की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरिन् । उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिराका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याएको ।

    सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गरे । उनले कैलालीमा तीनवर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही होस् भने । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताए ।

    सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरिन् । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गरिन् । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

    नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

    नेकपा (माओवादी केन्द्र)का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताए । सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images