काभ्रेपलाञ्चोक– फरार सूचीमा रहेका खगेन्द्र सुनार बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन् ।
अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएका सुनार बिहीबार बिहान अदालत पुगेका जिल्ला अदालतकी श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।
उनका अनुसार न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा सुनारको बयान जारी छ, त्यसपछि थुनछेक बहस हुनेछ ।
सुनारले अधिवक्ता मनीषा गौतमविरुद्ध फेसबुकमा अपशब्द लेखेको र लाइभमार्फत गालीगलौज गरेको उजुरीपछि साइबर ब्यूरोले मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको थियो ।
अनुसन्धानका क्रममा फरार रहेका सुनारविरुद्ध प्रहरीले गत साउन २ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले साउन ५ गते पक्राउ पुर्जी जारी गरे पनि उनी पक्राउ परेका थिएनन् ।
लामो समय फरार रहेपछि बिहीबार सुनार स्वयं अदालतमा हाजिर भएका हुन् ।























