नयाँदिल्ली– नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ सुरुवातको संकेत गरेको छ। ऊर्जा, सम्पर्क सञ्जाल, दुई अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज तथा हवाई सम्पर्कलगायतका विषयमा भ्रमणका क्रममा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
मुख्य बुँदा
बालेन शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा।
ऊर्जा, व्यापार र सम्पर्क सञ्जाल विस्तारमा नेपाल र भारतको जोड।
पोखरा र भैरहवाबाट उडान सञ्चालनका लागि नेपालले भारतसँग अनुमति माग्ने।
नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा ऊर्जा, सम्पर्क सञ्जाल र आर्थिक सहयोगका विषयमा महत्त्वपूर्ण छलफल हुने भएको छ।
प्रधानमन्त्री शाहको आइतबारदेखि सुरु हुने दुईदिने भारत भ्रमण केवल कूटनीतिक यात्रा मात्र होइन, दुई देशबीचको सम्बन्धमा विकसित हुँदै गएको नयाँ परिस्थितिको संकेत पनि हो।
विगतमा भारतसँग औपचारिक सम्पर्कका विषयमा समेत कडा र असहज धारणा राख्दै आएका शाह अहिले नयाँदिल्लीसँग सहकार्य विस्तार गर्ने दिशामा अघि बढेको देखिन्छ।
नेपालको अर्थतन्त्र, पूर्वाधार विकास र ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दा भारतसँगको सम्बन्ध सुधार तथा सहकार्य विस्तार उनको प्राथमिकतामा परेको देखिन्छ।

भारतप्रति बालेन शाहको दृष्टिकोणमा परिवर्तन
मार्चमा सत्ता सम्हालेपछि बालेन शाहले आफ्नो कार्यकालको पहिलो वर्ष विदेश भ्रमण नगर्ने घोषणा गरेका थिए। त्यति मात्र होइन, उनले भारतका विदेश सचिवसँग भेट गर्नसमेत अस्वीकार गरेका थिए। उनको प्रारम्भिक अडानले दुई देशबीचको सम्बन्धलाई लिएर विभिन्न प्रश्न उठाएको थियो।
तर समयसँगै परिस्थिति बदलियो। नेपालका विभिन्न वरिष्ठ मन्त्रीहरूले भारत भ्रमण गरे। अर्कोतर्फ भारतले बाढीको अवस्थासँग जुध्न नेपाललाई सहयोग पु¥यायो। त्यसपछि दुई देशबीचको सम्पर्क र संवाद पनि बढ्दै गयो।
नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणका आवश्यकता पूरा गर्न भारतसँगको सहकार्यलाई बलियो बनाउनुपर्ने महसुस प्रधानमन्त्री शाहले पनि गरेको देखिन्छ। हालै उनले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटवार्तासमेत गरेका छन्।
ऊर्जा र सम्पर्क सञ्जालमा महत्त्वपूर्ण निर्णयको तयारी
प्रधानमन्त्री शाहको भारत भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा हुने सहकार्य हो। भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले केही संयुक्त परियोजनाको उद्घाटन गर्नुका साथै नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।
यस अवसरमा दुई देशबीच संयुक्त दृष्टिकोणपत्रसमेत सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यसपटकको छलफल परम्परागत सहकार्यका क्षेत्रमा मात्र सीमित रहने छैन। स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदजस्ता नयाँ क्षेत्रमा साझेदारी विस्तार गर्ने सम्भावनाबारे पनि छलफल हुन सक्नेछ।
सोमबार प्रधानमन्त्री शाहले नेपाल र भारतका व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्ने सम्भावनासमेत रहेको छ।
भारतलाई थप विद्युत् निर्यात गर्ने नेपालको तयारी
नेपालका लागि भारतसँगको ऊर्जा सहकार्य आर्थिक दृष्टिकोणले समेत निकै महत्त्वपूर्ण छ। दुवै देशले सीमापार जलविद्युत् साझेदारी विस्तार गर्ने दिशामा थप पहल गर्न सक्नेछन्।
यसबाट नेपालले भारतमा थप विद्युत् निर्यात गर्ने अवसर प्राप्त गर्नेछ। जलविद्युत् उत्पादनको क्षमता बढाउँदै भारतीय बजारमा विद्युत् बिक्री विस्तार गर्नु नेपालको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
दुई अर्ब डलरको आर्थिक प्याकेजमा नेपालको चासो
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आर्थिक सहयोगको विषय पनि प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।
यसमा विद्युत् तथा अन्य पूर्वाधारसम्बन्धी परियोजनाका लागि एक अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सुविधा अर्थात् ‘लाइन अफ क्रेडिट’ समावेश हुन सक्नेछ।
त्यसैगरी नेपालले सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि भारतसँग ५० करोड अमेरिकी डलर अनुदान माग गरेको छ। उक्त राजमार्गले भारतीय सीमामा रहेको सुनौलीलाई पोखरासँग जोड्छ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पनि नेपालले भारतसँग थप ५० करोड अमेरिकी डलर अनुदान सहयोग माग गरेको छ। त्यसैले प्रधानमन्त्री शाहको भ्रमणका क्रममा आर्थिक सहयोगसँग सम्बन्धित यी प्रस्तावमाथि हुने छलफललाई विशेष महत्त्वका साथ हेरिएको छ।
पुरानो साझेदारीलाई नयाँ क्षेत्रमा विस्तार गर्ने प्रयास
नेपाल र भारतबीच विकास सहकार्यको इतिहास सात दशकभन्दा लामो छ। समयक्रमसँगै यो साझेदारी स्वास्थ्य, शिक्षा, ऊर्जा, व्यापार, कृषि, सम्पर्क सञ्जाल, पुरातत्त्व, सांस्कृतिक सम्पदाको संरक्षण तथा क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा विस्तार भएको छ।
भारतीय अधिकारीहरूका अनुसार दुई देशबीचको विकास साझेदारीअन्तर्गत सञ्चालन हुने परियोजनाहरू नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर तयार गरिन्छन्। यस्ता परियोजना नेपालका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका छन्।
विकास सहकार्यको यही व्यापक दायराले नेपाल–भारत सम्बन्धलाई विशेष बनाएको भारतीय अधिकारीहरूको भनाइ छ।
थप हवाई मार्ग प्रयोगको अनुमति माग्दै नेपाल
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपालले हवाई सम्पर्क विस्तारको विषय पनि उठाउने सम्भावना छ।
नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न तथा अवतरण गर्न भारतीय हवाई क्षेत्र प्रयोग गर्ने अनुमति माग्दै आएको छ।
पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका दृष्टिले नेपालका लागि यो विषय निकै महत्त्वपूर्ण छ। पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक हवाई मार्गको उपलब्धता महत्त्वपूर्ण मानिन्छ।
त्यसैले यस विषयमा दुई देशबीच हुने छलफल र त्यसबाट निस्कने निष्कर्षलाई पनि चासोका साथ हेरिएको छ।
सम्बन्धलाई नयाँ दिशा दिने अवसर
समग्रमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिने महत्त्वपूर्ण अवसर बन्न सक्ने देखिन्छ। प्रारम्भिक चरणमा भारतप्रति कडा धारणा राखेका शाहले अहिले सहकार्य विस्तारका लागि अघि सारेको पहलले कूटनीतिमा व्यावहारिक आवश्यकताको महत्त्वलाई उजागर गरेको छ।
नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण, ऊर्जा व्यापार र क्षेत्रीय सम्पर्क विस्तारका लागि भारतसँगको सहकार्य अपरिहार्य देखिन्छ।
अब यो भ्रमणका क्रममा हुने छलफलले कस्ता ठोस निर्णयको रूप लिन्छन् र प्रस्तावित आर्थिक सहयोग तथा संयुक्त परियोजनाहरू कार्यान्वयनको चरणमा पुग्छन् कि पुग्दैनन् भन्ने विषयमा दुवै देशको ध्यान केन्द्रित हुनेछ।






















