images
images
  • कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा दैनिक तीन–चार सय पर्यटक

    काठमाडौं – चिसो मौसम सुरु भएसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ । बिहान कुहिरोले ढाकिएको दृश्य र मनोरम सूर्योदय हेर्न दैनिक सयौँ पर्यटक मानुङकोट पुग्न थालेका छन् ।

    प्राकृतिक सौन्दर्य, वरपरका पहाडी दृश्य र बिहान देखिने कुहिरोका कारण मानुङकोट पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहान डाँडाबाट देखिने कुहिरो र सूर्योदयको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

    उनका अनुसार दैनिक तीनदेखि चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेका छन् । कतिपय पर्यटक अघिल्लो रात नै मानुङकोटमा बिताएर बिहानको दृश्य हेरेपछि फर्किने गरेका छन् ।

    स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा अन्य व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय व्यवसायलाई लाभ पुगेको उनले बताए ।

    मानुङकोटबाट कुहिरोले ढाकिएको दमौली बजारसँगै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट देखिने कुहिरो र सूर्योदयले पर्यटकलाई आकर्षित गर्दै आएको छ । दमौली बजारलाई कुहिरोले ढाक्ने दृश्यलाई स्थानीय पौराणिक कथासँग समेत जोड्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images