images
images
  • प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर, ३४६ जना लाभान्वित

    काठमाडौं – पर्साको वीरगन्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३४६ जना लाभान्वित भएका छन् । समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ नारासहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा शिविर आयोजना गरिएको हो ।

    सशस्त्र प्रहरी बल पर्साले नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, म्याग्नस फार्मा प्रालि र रुङ्गटा वेलफेयर सोसाइटीसँगको सहकार्यमा शिविर सञ्चालन गरेको थियो । शिविरमा बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक, कान तथा घाँटी र छालासम्बन्धी रोगको उपचार सेवा प्रदान गरिएको थियो ।

    शिविरमा चिकित्सकहरूले सेवाग्राहीको स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।

    यस अवसरमा रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवामा समुदायको सहभागिता बढाउने उद्देश्यले रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

    कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले सङ्घले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सामाजिक सेवामूलक अभियान सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images