images
images
  • पैदलयात्रीको मृत्युपछि जुम्ला तनावग्रस्त, बजार र यातायात ठप्प

    काठमाडौं – सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्ला सदरमुकाम खलंगामा तनाव बढेको छ । गत शुक्रबार बेलुकी चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आन्दोलन थालेका हुन् ।

    शनिबार दिउँसोदेखि मृतकका आफन्त सडकमा उत्रिएर टायर बाल्ने, नाराबाजी गर्ने र बजार बन्द गराउने गतिविधिमा लागेका छन् । आन्दोलनका कारण आइतबार बिहानैदेखि खलंगामा सवारीसाधन सञ्चालन हुन सकेको छैन । लामो तथा छोटो दूरीका यात्रु अलपत्र परेका छन् भने बजारका व्यवसायसमेत ठप्प छन् ।

    मृतकका आफन्त राजबहादुर महतले मोटरसाइकल चलाउने व्यक्तिलाई कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलन जारी रहने बताए । ‘मृतकको परिवारले क्षतिपूर्ति पाउनुपर्छ । दोषीले कानुनी कारबाही पाउनुपर्छ, अनिमात्र आन्दोलन रोकिनेवाला छ । नत्र अनिश्चितकालीन बन्द जारी नै रहनेछ,’ उनले भने ।

    आइतबार बिहानैदेखि आक्रोशित युवाहरू सडकमा उत्रिएर बजार नखोल्न माइकिङ गरिरहेका छन् । मृतकका आफन्तले जाहेरीवालालाई उपस्थित गराई वार्ता नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

    दुर्घटनामा परेको सरकारी मोटरसाइकल तिला गाउँपालिकाका प्राविधिक जीतबहादुर सिंहले बुझिलिएको खुलेको छ । तर, उनी अहिले सम्पर्कमा नरहेको बताइएको छ । मोटरसाइकल चलाउने व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सरकारी सवारीसाधन भएकाले दुर्घटनाको जिम्मेवारी गाउँपालिकाले पनि लिनुपर्ने मृतकका आफन्तको माग छ ।

    घटनाबारे छलफल र सहमति हुन नसक्दा मृतकको शव अस्पतालमै रहेको छ । मोटरसाइकलको जिम्मेवारी लिएका व्यक्तिलाई समेत नियन्त्रणमा लिनुपर्ने माग गर्दै आफन्तले माग पूरा नभए शव जिल्ला प्रहरी कार्यालयमा लगेर छाड्ने चेतावनी दिएका छन् ।

    राजबहादुर महतले छिटोभन्दा छिटो सहमति होस् भन्ने आफूहरूको चाहना भए पनि गाउँपालिका र मोटरसाइकल प्रयोग गर्ने कर्मचारीबाट जिम्मेवारी लिने पहल नभएको बताए । ‘हामी जतिसक्दो चाँडो सहमति होस् भन्ने चाहन्छौँ । तर यहाँ न पालिकाले जिम्मेवारी लिन्छ, न त मोटरसाइकल प्रयोग गर्ने कर्मचारी नै सम्पर्कमा आइरहेका छन् । यसले झन् शंका उत्पन्न भएको छ,’ उनले भने ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले घटनाबारे छलफल गर्न आइतबार बिहान ११ बजे तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया र प्रमुख प्रशासकीय अधिकृतलाई बोलाइएको जानकारी दिए। जाहेरीवालालाई पनि उपस्थित गराउन भनिएको उनले बताए ।

    घटनाको समाधानका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीलाई समेत पहल गरिदिन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार जाहेरीवालाको खोजीमा प्रहरी परिचालन गरिए पनि फेला पार्न सकेको छैन । ‘शंका लागेको स्थानमा प्रहरी पठाएका थियौँ,’ उनले भने, ‘तर नभेटाएर फर्कियो ।’

    यसैबीच, स्थानीय व्यवसायीले घटनाको शीघ्र समाधान गरी बजार सञ्चालन हुने वातावरण बनाउन प्रशासन र सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । – कान्तिपुर

    प्रतिक्रिया दिनुहोस्
    images
    images