images
images
  • टेम्केमैयुङका किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान

    काठमाडौं – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तारका लागि किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३र८४ को स्वीकृत कार्यक्रमअन्तर्गत प्राङ्गारिक तथा जैविक मल अनुदान कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार कार्यक्रममार्फत किसानले प्राङ्गारिक मल खरिद गर्दा ७५ प्रतिशत अनुदान पाउनेछन् ।

    प्राङ्गारिक तथा जैविक खेती गर्न इच्छुक किसानलाई लक्षित गरी कार्यक्रम ल्याइएको अध्यक्ष बस्नेतले बताए । पछिल्लो समय कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढ्दै गएको अवस्थामा माटोको गुणस्तर र उर्वराशक्ति कायम राख्न प्राङ्गारिक मलको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

    ‘किसानलाई प्राङ्गारिक तथा जैविक खेतीतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा यसको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ,’ अध्यक्ष बस्नेतले भने, ‘प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्दै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्न अनुदान कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

    कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने गाउँपालिकाको आशा छ । स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक मलको प्रयोग बढाएर खेती प्रणालीलाई व्यवस्थित, दिगो र उत्पादनमुखी बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

    अनुदानमा मल खरिद गर्दा किसानले प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । उनका अनुसार अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकामा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइने दाहालले बताए । अनुदान वितरणलाई व्यवस्थित, पारदर्शी र लक्षित वर्गसम्म पुर्‍याउन सूचीकृत उत्पादकबाट मल खरिद गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

    कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले आवश्यक मलको प्रकार र परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ ।

    गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण, वातावरणमैत्री कृषि प्रणालीको विकास र प्राङ्गारिक खेतीको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन किसानलाई प्राङ्गारिक तथा जैविक खेतीप्रति आकर्षित गर्न आवश्यक रहेको उनले बताइन् ।

    ‘कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,’ उपाध्यक्ष राईले भनिन्, ‘प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीय बनाउनुका साथै वातावरणमैत्री खेती प्रणाली विकास गर्ने हाम्रो लक्ष्य हो ।’

    गाउँपालिकाले कृषि क्षेत्रको विकास र किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images