काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार प्रकाशित ‘इरान डेली’सँगको अन्तर्वार्तामा उनले आणविक नीतिमा परिवर्तन गर्ने विषय व्यापक र गम्भीर बहसको विषय बनेको बताए ।
‘इरानको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रूस पनि विपक्षमा छन्,’ अराघचीले भने ।
चीन र रूस दुवैको इरानसँग रणनीतिक सहकार्यसम्बन्धी सम्झौता रहेको छ ।
उनले अहिलेसम्म इरानको आणविक नीतिमा कुनै परिवर्तन नभएको र यससम्बन्धी आधिकारिक धारणा पहिले जस्तै कायम रहेको स्पष्ट पारे ।
इजरायल र अमेरिकासँगको युद्धका क्रममा इरानका आणविक केन्द्रहरूमा आक्रमण भएपछि त्यहाँको राजनीतिक वृत्तमा आणविक नीतिमा परिवर्तन गर्नुपर्ने बहस पुनः चर्किएको छ ।
विशेषगरी कट्टरपन्थी समूहका नेताहरूले आणविक नीतिमा परिवर्तनको माग गर्दै आएका छन् ।
नीति परिवर्तनका पक्षधरहरूले आणविक हतियार विकास गर्ने बाटो खुला भएमा त्यसले इरानको प्रतिरोधात्मक क्षमता बलियो बनाउने तर्क गर्दै आएका छन् ।
यसैबीच, इरानले सुरक्षा चुनौती देखाउँदै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई आफ्ना आणविक केन्द्रहरूको निरीक्षण गर्न रोक लगाएको छ ।
अमेरिकाले र इजरायलले गरेका आक्रमणको निन्दा गर्न एजेन्सी असफल भएको आरोप पनि इरानले लगाउँदै आएको छ ।
गत साता संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले इरानलाई आफ्ना प्रमुख आणविक केन्द्रहरूमा निरीक्षकलाई पुनः प्रवेश दिन क्रमिक कदम चाल्न आग्रह गरेको थियो ।
त्यस्तो पहुँच अत्यन्त महत्त्वपूर्ण रहेको एजेन्सीको भनाइ थियो ।
इरानी अधिकारीहरूले सामूहिक विनाशका हतियार, विशेषगरी आणविक हतियार विकास गर्न निषेध गर्ने पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको धार्मिक आदेश (फतवा)लाई आफ्नो नीतिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
अराघचीले आणविक नीतिलाई यथावत् राख्नुपर्ने र परिवर्तन गर्नुपर्ने दुवै पक्षका आ–आफ्नै तर्क तथा आधार रहेको बताए ।
गत फेब्रुअरी २८ मा तेहरानस्थित आफ्नो निवासमा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनी मारिनुभएको थियो ।
त्यसपछि इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेसँगै क्षेत्रीय युद्ध चर्किएको थियो ।
उनका छोरा मोज्तबा खामेनी मार्चमा नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त भए पनि त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन् ।
उनले आफ्ना पिताको आणविक हतियार विकास नगर्ने धार्मिक आदेश उल्ट्याउने कुनै नयाँ निर्णयसमेत जारी गरेका छैनन् ।






















