images
images
  • ४ हजार डलरमा बिक्यो अमेरिकाका पहिलो राष्ट्रपति वासिङ्टनको कपाल

    काठमाडौं – अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पा लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको छ । फ्रेममा सुरक्षित राखिएको उक्त कपाल शनिबार भएको लिलामीमा बिक्री भएको लिलामीकर्ता संस्था रिचमन्ड अक्सन्सले जनाएको छ ।

    संस्थाका अनुसार उक्त कपाल सन् १७९९ मा वासिङ्टनलाई रात्रिभोजमा आमन्त्रण गर्ने जोन ग्याड्स्बीको थियो। सोही वर्ष वासिङ्टनको निधन भएको थियो। ग्याड्स्बीका एक वंशजबाट संकलक जोन के। ल्याटिमरले उक्त कपाल प्राप्त गरेका थिए । लिलामीमा खरिद गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

    यो मूल्य वासिङ्टनका अन्य कपालका नमुनाको तुलनामा कम हो । सन् २०२१ मा उनका तीनवटा कपालका रेसा लकेटमा सुरक्षित राखिएको अवस्थामा करिब ४० हजार अमेरिकी डलरमा बिक्री भएका थिए । ती कपाल वासिङ्टनको मृत्युअघि वा मृत्युपछि काटिएका हुन सक्ने अनुमान गरिएको थियो ।

    रिचमन्ड अक्सन्सको वेबसाइटमा प्रकाशित सन् १९२८ को एक बयानअनुसार ग्याड्स्बीले वासिङ्टनको निधन हुनुभन्दा केही समयअघि उनलाई रात्रिभोज दिएका थिए । ग्याड्स्बीकी नातिनी जुलिया टेन आइक म्याकब्लेयरले उक्त बयानमा हजुरबुबाले वासिङ्टनसँगको मित्रता र उनको जीवनको अन्तिम समयसँगको सम्बन्धका कारण कपाल प्राप्त गरेको उल्लेख गरेकी छन् ।

    म्याकब्लेयरका अनुसार ग्याड्स्बीले कपाललाई फ्रेममा राखेर वासिङ्टन सिटीस्थित आफ्नो घरमा जनरल वासिङ्टनको तस्बिरमुनि झुन्ड्याएका थिए। उनले बाल्यकालदेखि नै उक्त कपाल देख्दै आएको बताएकी छन् । ग्याड्स्बीले सन् १७९८ र १७९९ मा वासिङ्टनको जन्मदिनका समारोहसमेत आयोजना गरेका थिए ।

    वासिङ्टनले अमेरिकी स्वतन्त्रता संग्राममा बेलायती सेनाविरुद्ध अमेरिकी फौजको नेतृत्व गरेका थिए। युद्धमा विजय हासिल गरेपछि उनले अमेरिकी संविधानको मस्यौदा तयार पार्न योगदान दिएका थिए । सन् १७८८ मा अमेरिकाको पहिलो राष्ट्रपति बनेका उनले दुई कार्यकाल पूरा गरी सन् १७९७ मा पद छाडेका थिए ।

    वासिङ्टनको कपालका अन्य नमुनासमेत सुरक्षित राखिएका छन्। तीमध्ये कम्तीमा ५० वटा नमुना उनको पूर्वनिवास माउन्ट भेर्ननमा संग्रहित छन्। उक्त स्थान अहिले संग्रहालयका रूपमा सञ्चालनमा छ ।

    माउन्ट भेर्ननको वेबसाइटमा प्रकाशित एक ब्लगअनुसार १९औँ शताब्दीमा मित्र वा प्रियजनको कपाल सुरक्षित राखेर सार्वजनिक रूपमा प्रदर्शन गर्ने चलन लोकप्रिय थियो। वासिङ्टनजस्ता सम्पन्न परिवारमा भने यो परम्परा त्यसभन्दा अघिदेखि नै प्रचलनमा थियो ।

    वासिङ्टनसँग सम्बन्धित अन्य ऐतिहासिक सामग्री पनि लिलामीमा बिक्री हुँदै आएका छन् । गत जुलाईमा सन् १७७६ मा उनले लेखेको र हस्ताक्षर गरेको एउटा पत्र १ लाख ९ हजार ८ सय अमेरिकी डलरमा बिक्री भएको थियो। उक्त पत्रमा बेलायती सेनाविरुद्ध लड्न कन्टिनेन्टल आर्मीका लागि सैनिक उपलब्ध गराउन आग्रह गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images