काठमाडौं– अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए)मा यसै साता साइबर आक्रमण भएको छ ।
यस घटनाले खाद्य सुरक्षाको जिम्मेवारी वहन गर्ने उक्त सरकारी निकायमा सङ्ग्रहित संवेदनशील सूचना चोरी वा दुरुपयोग भएको हुन सक्ने आशङ्का बढाएको छ ।
एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको समाचारअनुसार ह्याकरहरूले किसानलाई भुक्तानी गर्ने प्रयोजनका लागि प्रयोग हुने मन्त्रालयको कम्प्युटर प्रणालीमा पहुँच बनाएका थिए ।
घटनाबारे जानकारी भएका मन्त्रालयका दुई पूर्वअधिकारीलाई उद्धृत गर्दै उक्त समाचारमा मन्त्रालयले बिहीबार आफ्ना कर्मचारीलाई यसबारे जानकारी गराएको उल्लेख छ ।
यो घटना पछिल्लो समय अमेरिकाका विभिन्न महत्त्वपूर्ण प्रविधि प्रणालीमा देखिएका अवरोधहरूको शृङ्खलापछि सार्वजनिक भएको हो ।
ती अवरोधका कारण हवाई यातायात, बैंकिङ सेवा तथा राष्ट्रिय सुरक्षा प्रणालीसमेत प्रभावित भएका थिए ।
पछिल्ला केही दिनमा माइक्रोसफ्टका करोडौँ प्रयोगकर्ताले विश्वव्यापी सेवा अवरोधको सामना गर्नुपरेको थियो ।
त्यस्तै, सञ्चार प्रणालीमा आएको खराबीका कारण अमेरिकाभर हवाई उडानमा अस्थायी रोक लगाउनुपरेको थियो ।
त्यसबाट करिब २० हजार उडान प्रभावित भएका थिए ।
यसैगरी, अमेरिकाका विभिन्न प्रमुख बैंकका हजारौँ ग्राहकले आफ्ना अनलाइन खातामा पहुँच गर्न कठिनाइ भएको गुनासो गरेका थिए ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले प्रयोग गर्ने उच्च गोपनीयतायुक्त आन्तरिक सञ्चार सञ्जालसमेत अवरुद्ध भएको थियो ।
यद्यपि, हालसम्मका यी सेवा अवरोधहरू साइबर आक्रमणका कारण भएका हुन् भन्ने पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन ।
अमेरिकी गुप्तचर अधिकारीहरूले बुधबार ती अवरोधहरू एकअर्कासँग सम्बन्धित नभई नियमित मर्मतसम्भार तथा प्राविधिक परिवर्तनका क्रममा उत्पन्न भएका छुट्टाछुट्टै सेवा समस्याहरू भएको बताएका थिए ।
ती कुनै समन्वित वा राज्य प्रायोजित साइबर आक्रमणको परिणाम नभएको उनीहरूको भनाइ थियो ।
प्रविधि प्रणालीमा देखिएका लगातारका अवरोधलाई लिएर सरकारको आलोचना बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट हटाएका छन् ।
उनले सन् २०२५ अगस्टदेखि उक्त कार्यालयको नेतृत्व गर्दै आएका थिए ।
एक्सियोसका अनुसार दुई स्रोतले केर्नक्रसको बहिर्गमन सौहार्दपूर्ण रहेको बताएका छन् ।
तर, ह्वाइट हाउसका दुई अधिकारीले ट्रम्पका नयाँ चिफ अफ स्टाफ स्टेफन मिलरले उक्त परिवर्तनका लागि दबाब दिएको बताएका छन् ।
मिलरले केर्नक्रससँग उक्त जिम्मेवारी निर्वाह गर्न आवश्यक बलियो साइबर सुरक्षा अनुभव नभएको ठानेको ती अधिकारीहरूको भनाइ छ ।
एक्सियोसका अनुसार ट्रम्पले रक्षा मन्त्रालयका प्रमुख सूचना अधिकारी किस्र्टन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशक नियुक्त गरेका छन् ।
उक्त पदमा नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ ।
कृषि मन्त्रालयको प्रणालीमा भएको साइबर आक्रमणको वास्तविक प्रभाव, सम्भावित सूचना चुहावट तथा घटनामा संलग्न पक्षबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ ।






















