काठमाडौं – चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ दुई महिनादेखि अलपत्र परेको छ । नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीसहित सञ्चालनमा ल्याइएको क्रुज अहिले गैँडाकोटतर्फ पुलको पहिलो पिल्लर नजिकै भग्नावशेष र खियाले ढाकिएको अवस्थामा छ ।
गत असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट करिब ६० टन तौलको क्रुज बगाएको थियो । बाढीको तीव्र बहावले बगाएर ल्याएको क्रुज नवलपुरतर्फ पुलको पहिलो पिल्लरमा अड्किएको थियो । त्यसयता दुई महिना बितिसक्दा पनि क्रुजलाई पूर्ण रूपमा हटाउन सकिएको छैन ।
क्रुज पुलको पिल्लरमा अड्किएपछि देशकै प्रमुख राजमार्ग जोड्ने नारायणी पुलको सुरक्षामाथि समेत चिन्ता बढेको थियो । त्यसलगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा ८० टन र ३५ टन क्षमताका दुईवटा क्रेनसहित थप मेसिन प्रयोग गरेर क्रुज निकाल्ने प्रयास गरिएको थियो । तर, क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्र पर सार्न सकियो। त्यसपछि उद्धारको काम अघि बढ्न सकेन ।
चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकै दिनमा क्रुज निकाल्ने दाबी गरेका थिए । तर, प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो जोखिम नदेखिएको निष्कर्ष आएपछि क्रुज हटाउने काम सुस्तायो । त्यसपछि दसैँ र तिहारका लामो बिदाका कारण पनि प्रक्रिया थप लम्बिएको सञ्चालक पक्षको भनाइ छ ।
पानीमा तैरिनुपर्ने क्रुजका मुख्य पङ्खा (प्रोपेलर) अहिले नदीको सतहमा देखिन्छन् । क्रुजभित्र रहेका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने स्थान तथा प्राविधिक उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ठूलो पर्यटकीय सम्भावनासहित सञ्चालनमा ल्याइएको जलयान अहिले नदीमा कबाडजस्तै अवस्थामा छ । नदीको पानीको सतह घटिसक्दा पनि त्यसलाई किनारमा ल्याउन सकिएको छैन ।
क्रुज तत्काल किनारमा ल्याउन नसक्दा ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बताए । उनका अनुसार मुख्य जलयानको भागमा मात्रै करिब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको छ ।
क्रुजभित्रका होटल तथा भौतिक पूर्वाधारको बिमा भए पनि मुख्य जलयानको बिमा पोलिसी नभएकाले क्षतिपूर्ति दाबीमा कानुनी जटिलता थपिएको सञ्चालक पक्षको भनाइ छ । दसैँ र तिहारका लामो बिदा तथा स्थानीय प्रहरी र वडा कार्यालयबाट कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज हटाउन ढिलाइ भएको अध्यक्ष ढुंगेलले बताए । अब क्रुजलाई साबिककै स्वरूपमा तानेर निकाल्न सम्भव नभएकाले काटेर टुक्राटुक्रा पारी हटाउने तयारी भइरहेको उनले जानकारी दिए ।
सरकारी प्रयासबाट क्रुज हटाउन नसकिएपछि प्रशासनले यसको व्यवस्थापन गर्ने जिम्मेवारी सञ्चालक कम्पनीलाई दिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय भरतपुरमार्फत कम्पनीलाई क्रुज तत्काल हटाउन ताकेता गरेको थियो ।
पुलको पिल्लरमा क्रुज अड्किरहँदा संरचनाको सुरक्षामा जोखिम हुन सक्ने भएकाले कम्पनीलाई अविलम्ब हटाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए । उनका अनुसार प्रशासनले घटनास्थलको अवस्थाबारे निरन्तर अनुगमन र फलोअप गरिरहेको छ। ‘हामीले स्थितिबारे निरन्तर अनुगमन र फलोअप गरिरहेका छौँ। कम्पनीले आफैँ काटेर हटाउने काम सुरु गर्ने जानकारी पाएका छौँ,’ उनले भने ।
क्रुज अड्किएलगत्तै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रेनको सहायताले तत्काल निकाल्ने अभिव्यक्ति दिएका थिए । तर, दुई महिना बितिसक्दा पनि क्रुज पुलको पिल्लर नजिकै अलपत्र छ । दुवैतर्फका प्रशासनिक निकायबाट यसको व्यवस्थापनमा प्रभावकारी पहल हुन नसकेको भन्दै प्रश्न उठेको छ ।
नेपालकै पहिलो लक्जरी क्रुजका रूपमा प्रचार गरिएको यो परियोजना अहिले नारायणी नदीको बहाव र पुलको पिल्लरबीच अलपत्र अवस्थामा छ । यसले निजी क्षेत्रको करोडौँको लगानीमा ठूलो क्षति पुर्याउनुका साथै नदी पर्यटन सञ्चालनका लागि आवश्यक पूर्वतयारी, जोखिम व्यवस्थापन र सरकारी समन्वयको अवस्थामाथि पनि प्रश्न उठाएको छ ।






















