images
images
  • धानको उत्पादन नाप्न किसानको खलामै पुग्छन् जनप्रतिनिधि

    काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला किसानका खलामा पुगेर धान नापजाँच गर्न व्यस्त छन् । गाउँपालिकाभित्र सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिने कार्यक्रमअन्तर्गत उनीहरू खेत र खलामै पुगेर उत्पादनको विवरण संकलन गरिरहेका छन् ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलामै पुगेर उत्पादनको तथ्याङ्क संकलन गर्न थालेको हो । कार्यक्रमबाट लाभ लिन किसान उत्साहित भएपछि हरेक वर्ष जनप्रतिनिधि र प्राविधिक टोली गाउँगाउँ पुगेर अन्नबालीको नापजाँच गर्ने गरेको छ ।

    यसैक्रममा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित तीन खलामा धान झार्ने कार्यक्रमबारे वडा कार्यालयलाई जानकारी गराएका थिए । धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान नापिएको थियो । बोहोराको एउटा खलामा मात्रै ठ्याक्कै २५ मुरी धान भरिएको छ । यस वर्ष उनले कुल ७० मुरीभन्दा बढी धान भित्र्याएका छन् ।

    गाउँपालिकाभित्र सबैभन्दा बढी धान उत्पादन गर्ने किसानमध्ये बोहोरा पनि एक भएकाले उनले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए । ‘बोहोराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने भएको छ,’ उनले भने, ‘पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय किसानले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहेको छ ।’

    मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ देखि अन्नबाली उत्पादनसँगै प्राङ्गारिक मल उत्पादनमा पनि प्रोत्साहन दिन थालेको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले जानकारी दिए । उनका अनुसार ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई ३० हजार रुपैयाँ, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ ।

    पुरस्कारका लागि किसानले अन्नबाली भित्र्याउनुअघि नै वडा कार्यालयमार्फत पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी उत्पादनको परिमाण पुष्टि गर्छन् । यही मापदण्डअनुसार पुरस्कार वितरण गर्दा वार्षिक करिब दुई करोड रुपैयाँ खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष कार्यविधिमा केही कडाइ गर्ने तयारी गरेको छ ।

    ‘उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ,’ प्रवक्ता लावतीले भने, ‘विगतभन्दा धेरै अन्तर हुँदैन । अहिले पनि किसानले राम्रो लाभ पाउछन् ।’

    गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईका अनुसार यस वर्ष पनि पुरानै मापदण्डअनुसार धान, मकै र आलु उत्पादन तथा मल भण्डारणबारे पूर्वजानकारी दिन किसानलाई वडामार्फत सूचित गरिएको छ । किसानले वडा कार्यालयमा दिएको निवेदनका आधारमा अहिले पालिकाका प्रतिनिधिले खलामै पुगेर धानको नापजाँच गरिरहेका छन् ।

    कोभिड–१९ महामारीपछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सुरु गरेको थियो । सुरुमा ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने तथा चार फिट उचाइ र २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई एक लाख रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको थियो । त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिइन्थ्यो । लाभग्राहीको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले पछिल्लो समय पुरस्कार रकम घटाएको हो ।

    गत वर्ष मात्रै कृषक प्रोत्साहन पुरस्कार कार्यक्रममार्फत गाउँपालिकाले ५८६ जना किसानलाई कुल एक करोड ८५ लाख ६५ हजार रुपैयाँ वितरण गरेको थियो । प्रवक्ता लावतीका अनुसार धान उत्पादन गर्ने १०७ किसानलाई ५३ लाख ५० हजार रुपैयाँ, मकै उत्पादन गर्ने २४८ किसानलाई ७४ लाख ४० हजार रुपैयाँ, आलु उत्पादन गर्ने ६७ किसानलाई १६ लाख ७५ हजार रुपैयाँ र प्राङ्गारिक मल उत्पादन गर्ने १६४ किसानलाई ४१ लाख रुपैयाँ पुरस्कार दिइएको थियो ।

    पुरस्कार पाउने किसानको सङ्ख्या वर्षेनि बढ्दै गएको र त्यससँगै अन्नबाली उत्पादनमा पनि वृद्धि भइरहेको प्रवक्ता लावतीले बताए । उत्पादनका आधारमा किसानलाई नगद प्रोत्साहन दिँदा कृषि कर्मप्रति आकर्षण बढ्नुका साथै स्थानीयस्तरमा खाद्यान्न उत्पादन विस्तारमा सहयोग पुगेको गाउँपालिकाको विश्वास छ ।

    पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि बढी धान उत्पादन गर्ने किसानलाई प्रोत्साहन पुरस्कार दिँदै आएको छ । त्यहाँ ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार रुपैयाँ र १०० मुरीभन्दा बढी उत्पादन गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । जिल्लाका मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका बढी अन्नबाली उत्पादन हुने तथा तुलनात्मक रूपमा सिँचाइ सुविधा राम्रो भएका स्थानीय तहका रूपमा चिनिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images