काठाडौं – कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका छन् ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै व्यवसाय सञ्चालन गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन्, जसमध्ये पाँचवटा दुहुना छन् ।
क्षेत्रीले भैँसीको दूध सिधै बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र त्यसबाट घ्यू उत्पादन गरी बिक्री गर्दै आएका छन् । उनका अनुसार पाँच दिनको दूधबाट करिब चार लिटर घ्यू उत्पादन हुन्छ । उत्पादित घ्यू प्रतिलिटर एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ ।
उनले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई समेत बिक्री गर्दै आएका छन् । पदयात्रामा आउने पर्यटकलाई स्थानीय उत्पादन बिक्री गर्न सके बजारको समस्या नहुने उनको अनुभव छ ।
भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने उनको अभ्यास छ । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उनी बताउँछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने ।
घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने एउटा भैँसीको मूल्य एक लाख रुपैयाँसम्म पर्ने उनको भनाइ छ । घ्यू बिक्री र भैँसीको कारोबारबाट घरखर्च तथा अन्य खर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँ बचत हुने गरेको उनले बताए ।
भैँसीपालन व्यवसायलाई निरन्तरता दिन परिवारको साथ र सहयोग महत्त्वपूर्ण रहेको क्षेत्री बताउँछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन् । छोरी अहिले जापानमा छिन् भने उनका दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
विदेशमा आर्जन गरेको अनुभव, सीप र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने क्षेत्रीको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू खुसी र सन्तुष्ट रहेको उनी बताउँछन्।






















