images
images
  • चितवनमा बर्डफ्लु रोग पुष्टि : १८ हजार बढी कुखुरा नष्ट, चराबाट फैलिएको आशंका

    काठमाडौं- बर्डफ्लु रोग पुष्टि भएपछि चितवनका दुई व्यावसायिक फार्मका १८ हजार बढी कुखुरा नष्ट गरिएको छ।

    भरतपुर-४ स्थित एउटा लेयर्स कुखुरा फार्म र एउटा लोकल कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो।

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजयकुमार श्रेष्ठले चैत १२ गते दुई फार्ममा बर्डफ्लु रोग पुष्टि भएको जानकारी दिए।

    आइतबार सम्ममा १७ हजार ९५० लेयर्स कुखुरा र ९१३ लोकल कुखुरा नष्ट गरिएको छ।

    ‘बर्डफ्लु देखा परेपछि ती फार्म र फार्मको चार किल्लाभित्र पर्ने कुखुरा र दानालगायतका सामग्री नष्ट गरिएको छ। दुई फार्म करिब ५० मिटर फरकमा रहेछन्। सबै कुखुरा नष्ट गरिएको छ,’ डा. श्रेष्ठले भने, ‘रोग अन्यत्र फैलनबाट रोक्न सक्दो सावधानी अपनाइएको छ।’

    लेयर्स कुखुरा अण्डाका लागि व्यावसायिक रूपमा पाल्ने गरिन्छ। लोकल कुखुरा पनि व्यावसायिक रूपमै पालिएको थियो।

    ‘यी दुई फार्मबाट २/३ किलोमिटर आसपास अरू फार्म रहनेछ। यसले भाइरस पर फैलिएको छैन कि भन्ने आशा गर्ने ठाउँ छ तर सतर्क भने सबै हुनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘नजिक त हावा हुरीबाट पनि फैलन सक्ने सम्भावना रहन्छ।’

    पशु चिकित्सकहरूका अनुसार बर्डफ्लु पुष्टि भएको लेयर्स फार्मले दाना आफै उत्पादन गर्दथ्यो। अण्डा बिक्रीका लागि आफ्नै गाडीमात्रै प्रयोग गर्दथ्यो।

    ‘प्राविधिक रूपमा राम्रो गरिरहेको फार्म थियो। नजिक रूखहरू रहेछन्। चराले रोग फैलाए कि भन्ने आशंका छ,’ चिकित्सकहरू भन्छन्, ‘अरू पोल्ट्री व्यवसायीहरूलाई पनि शंकास्पद देखिए तत्कालै प्रयोगशालामा सम्पर्क गर्न भनेका छौं।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images