काठमाडौं– नेपाली कांग्रेसले आइतबारदेखि गर्ने भारत भ्रमणबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिपक्षसँग कुनै छलफल नगरेको गुनासो गरेको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गरि कांग्रेससँग भारत भ्रमणका विषयमा थुप्रै अनुभव र सुझावहरू भएकोमा प्रधानमन्त्रीलाई दिन नपाएको गुनासो गरेका छन् ।
‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षलगायत राजनीतिक दलहरूसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
‘प्रधानमन्त्री शाहको मंसिर ६ देखि प्रारम्भ हुने मित्रराष्ट्र भारतको भ्रमण सफल र उपलब्धिमूलक रहोस्, कामना साथ नेपाली कांग्रेस दुई मित्र राष्ट्रको सम्बन्धमा प्रगाढतासँगै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा यो भ्रमण उपयोग हुन सकोस्, शुभकामना व्यक्त गर्दछ,’ विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयहरूमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो । जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्या लगायत विषयमा हामीले गत बुधबार बिषय बिज्ञहरुको सहभागितामा ’बिशेष आन्तरिक विमर्श गरेका थियौँ ।’
कांग्रेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन नेपाली कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो सम्बन्धका सम्भावना, अवसर र व्यवहारिक जटिलताबारे नेपाली कांग्रेससँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ छ । यही आधारमा प्रधानमन्त्रीको भ्रमणलाई सकारात्मक बल पु¥याउने हाम्रो योजना र तत्परता थियो ।’
शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय महत्त्वको भ्रमण अघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन समेत आवश्यक ठानेन । त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ, तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात गर्नसकेन । यद्यपि, सरकारको यस कमजोरीलाई हामी प्रधानमन्त्रीको भ्रमणको संभावित बिषयवस्तुसँग जोडेर हेर्न चाहँदैनौँ । सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्र राष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ । यो भ्रमणको सफलतासँग हाम्रो देशको सफलता गाँसिएको छ, अतः नेपाली कांग्रेस यो भ्रमणप्रति हार्दिक शुभेच्छा प्रकट गर्दछ ।’
हाम्रो अपेक्षा छ यो भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तात्कालिक प्रचारमा सीमित नबनोस् । विगतका प्रतिबद्धताहरुको कार्यान्वयन, विद्यमान समस्याहरुको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न यो अवसरको उपयोग हुन सकोस् र भ्रमण सार्थक बनोस् ।
भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा गरिएका घोषणाले होइन, त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामले निर्धारण गर्नेछ, भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ ।






















