काठमाडौं– बाल्टिक सागरमा ड्रोन आक्रमणमा परेको रूसी मालवाहक पानीजहाजमा आगलागी भएको छ ।
फिनल्यान्डले उक्त आक्रमण युक्रेनले गरेको हुनसक्ने जनाएको छ ।
आक्रमणपछि क्षतिग्रस्त जहाज समुद्री बहावसँगै फिनल्यान्डको जलक्षेत्रमा पुगेको छ ।
‘स्पार्टा–२’ नामको उक्त पानीजहाजमा रहेका चालक दलका १६ सदस्यले लाइफबोटमार्फत जहाज छाडेका थिए ।
उनीहरूलाई नजिकै रहेको अर्को रूसी जहाजले उद्धार गरेको फिनल्यान्डको सीमा सुरक्षा बलका कमान्डर इल्जा इल्जिनले सार्वजनिक प्रसारण संस्था वाईएलईलाई बताएका छन् ।
उद्धार गरिएका सबै सदस्य रूस फर्किने क्रममा रहेको उनले जानकारी दिए ।
फिनल्यान्डका सैन्य प्रवक्ता आकी–माउरी हुह्टिनेनले आक्रमणमा युक्रेनको संलग्नता रहेको सम्भावना व्यक्त गरेका छन् ।
यद्यपि, जहाजलाई किन निशाना बनाइएको हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।
रुसको पश्चिमी क्षेत्रस्थित गोगल्यान्ड टापुको पश्चिमतर्फ अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजमाथि आक्रमण भएको फिनल्यान्डको रक्षा बलले जनाएको छ ।
जहाज रूसको कालिनिनग्रादतर्फ जाँदै थियो ।
शनिबार रातिसम्म पनि जहाजमा लागेको आगो नियन्त्रणमा आएको थिएन ।
जहाज फिनल्यान्डको जलक्षेत्रमा रोकिएकाले उद्धार तथा आगो नियन्त्रणको नेतृत्व फिनल्यान्डले गरिरहेको छ ।
आवश्यक परे रूसी जहाजहरूले क्षतिग्रस्त जहाजलाई तानेर रुस लैजान सक्ने अधिकारीहरूले बताएका छन् ।
उद्धार अभियानका क्रममा रूसी हेलिकप्टरले केही समय फिनल्यान्डको हवाई क्षेत्र उल्लङ्घन गरेको आशङ्का गरिएको छ ।
फिनल्यान्डको खाडी क्षेत्रका तटरक्षक कमान्डर मिक्को सिमोलाले यसबारे जानकारी दिएका हुन् ।
फिनल्यान्डमा हवाई तथा समुद्री आवागमनमा प्रतिबन्ध
घटनापछि फिनल्यान्डले पूर्वी फिनल्यान्डको खाडी क्षेत्रमा अस्थायी हवाई तथा समुद्री आवागमन प्रतिबन्ध लागू गरेको छ ।
ड्रोन अवरोध गर्नुपर्ने अवस्था आएमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र सरकारी निकायलाई आवश्यक काम गर्न सहज बनाउन प्रतिबन्ध लगाइएको अधिकारीहरूले बताएका छन् ।
फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले रूस–युक्रेन युद्ध छिमेकी क्षेत्रमा समेत फैलिन थालेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले रुसी व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको र फिनल्यान्डका अधिकारीहरूले परिस्थितिलाई नियन्त्रणमा लिइरहेको उल्लेख गरेका छन् ।
उनले युक्रेनलाई आक्रमणकारीविरुद्ध प्रतिकार गर्ने अधिकार रहेको पनि बताएका छन् ।
घटनापछि फिनल्यान्ड र नेटोको क्षेत्रीय अखण्डता सुरक्षित गर्न स्विडेनका लडाकु विमानसमेत परिचालन गरिएको स्विडेनका रक्षामन्त्री पाल जोन्सनले बताएका छन् ।
उद्धार तथा आगलागी नियन्त्रणमा सहयोग गर्न इस्टोनियाले आफ्नो नौसैनिक जहाज पनि पठाएको छ ।
इस्टोनियाले उद्धारका साथै आगो नियन्त्रण र समुद्री प्रदूषण रोक्ने कार्यमा सहयोग गरिरहेको जनाएको छ ।
अमेरिकी प्रतिबन्धमा परेको जहाज
आक्रमणमा परेको ‘स्पार्टा–२’ रूसी झन्डावाहक १२१ मिटर लामो मालवाहक जहाज हो ।
यो रूसी जहाज कम्पनी ओबोरोनलोजिस्टिकासँग सम्बन्धित रहेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।
ओबोरोनलोजिस्टिकाले रूसी रक्षा मन्त्रालयलाई ढुवानी तथा लजिस्टिक सेवा प्रदान गर्दै आएको छ ।
उक्त कम्पनी र जहाजमाथि अमेरिकाले प्रतिबन्धसमेत लगाएको छ ।
जहाजमा के सामग्री राखिएको थियो भन्नेबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
तर, सैन्य सामग्रीसमेत हुनसक्ने सम्भावनालाई नकार्न नसकिने फिनल्यान्डको सीमा सुरक्षा बलका कमान्डर इल्जिनले बताएका छन् ।
रूसले ८० ड्रोन खसालेको दाबी
रूसको लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर द्रोज्देन्कोले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रूसी सीमाबाट करिब तीन समुद्री माइल टाढा मालवाहक जहाजमाथि दुईवटा ड्रोनबाट आक्रमण भएको बताएका छन् ।
उनले रातभरमा लेनिनग्राद क्षेत्रमा ८० वटा ड्रोन खसालिएको दाबीसमेत गरेका छन् ।
यसअघि पनि युक्रेनी ड्रोन आक्रमणको लहरका क्रममा सोही क्षेत्रमा रूसी युद्धपोतलाई निशाना बनाइएको फिनल्यान्डको सेनाले जनाएको थियो ।
कालिनिनग्राद क्षेत्रका गभर्नर अलेक्सेई बेस्प्रोज्भानिखले जहाजमाथिको आक्रमणले उक्त क्षेत्रमा हुने आपूर्तिमा कुनै खतरा नरहेको बताएका छन् ।
पोल्यान्ड र लिथुआनियाबीच अवस्थित कालिनिनग्राद क्षेत्र रूस तथा नेटो र युरोपेली सङ्घबीचको तनावको केन्द्रका रूपमा रहँदै आएको छ ।
रुसले यसअघि पनि आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर रहेका व्यापारिक जहाजमाथि हुने आक्रमणलाई आतंकवादी गतिविधि तथा समुद्री डकैतीको संज्ञा दिँदै आएको छ ।
एलएसईजीको तथ्याङ्कअनुसार स्पार्टा–२ जहाज शुक्रबार सेन्ट पिटर्सबर्गबाट प्रस्थान गरेको थियो ।
फिनल्यान्ड र इस्टोनियाबीच रहेको फिनल्यान्डको खाडी बाल्टिक सागरको साँघुरो समुद्री भाग हो ।
यो पूर्वतर्फ रूसको सेन्ट पिटर्सबर्गतर्फ फैलिएको छ ।
गोगल्यान्ड टापु यही खाडीको पूर्वी क्षेत्रमा अवस्थित छ । –रोयटर्स






















