काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा जेनजी प्रतिनिधि र राजनीतिक दललाई एकठाउँमा राखेर सरकारले वार्ता गर्ने भन्दै बोलाइन् ।
बैठकमा सरकार, राजनीति दल र जेनजीका को–को प्रतिनिधि सहभागी छन् भनेर प्रधानमन्त्री कार्यालयले नै सूचना सार्वजनिक गरेको छ । तर, सरकारले सार्वजनिक गरेको सूचीमा नाम नै नभएका सागर ढकाल भने वार्ताका क्रममा टोपी र रातो कुर्ता लगाएर केही टिपिरहेको तस्बिर बालुवाटारले नै सार्वजनिक ग¥यो । र, उनी जेनजीका प्रतिनिधि बसेको सिटमा बसेका देखिन्छन् ।
निर्वाचन आयोगका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुरामा २०७९ सालमा चुनावी प्रतिस्पर्धा गर्ने बेला सागरको उमेर ३१ वर्ष थियो । यस हिसाबले हेर्दा उनी अहिले ३४ वर्षका भए ।
२८ वर्षसम्मको उमेर समूहलाई जेनजी मानिएको छ । वार्तामा प्रदर्शनकारी जेनजी प्रतिनिधिका अतिरिक्त शहीद र घाइते परिवारका सदस्यका तर्फबाट पनि सहभागी छन् । तर, ढकालका कोही पनि आफन्त र परिवारका सदस्य मृतक या घाइते छैनन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार दलका तर्फबाट वार्तामा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।
प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र शिक्षामन्त्री सहभागी सो वार्तामा जेनजी प्रतिनिधिका रूपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगरलाई आधिकारिक टोलीका रूपमा प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ ।
आन्दोलनका घाइते र शहीद परिवारका सदस्य बताउनेहरू बालुवाटारमा वार्ता भइरहेको स्थानबाहिर वार्तामा सहभागी नगराइएको भन्दै धर्नामा पनि बसे । सरकारले सार्वजनिक गरेको त्रिपक्षीय वार्तामा सहभागीका रूपमा कतै पनि नाम उल्लेख नभएका ढकाल कसरी र कुन हैसियतमा बैठकमा सहभागी भए भन्ने प्रश्न जेनजीकै प्रतिनिधिले समेत उठाएका छन् ।























