काठमाडौं– जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी गर्ने घटनामा स्ववियु सदस्यको संलग्नता भेटिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बानेश्वर बहुमुखी क्याम्पसका अखिल (क्रान्तिकारी) तर्फबाट निर्वाचित स्ववियु सदस्य सुजन वाइबा पेट्रोल बोकेर संसद् भवनमा आगजनी गरेको पाइएको छ ।
आगजनी र हतियार लुटपाटमा संलग्न आरोपमा वाइबा सहित चार जनालाई पक्राउ गरिएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
उनका अनुसार वाइबाको समूहले प्रहरीका चार नाल हतियार समेत लुटेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरका २० वर्षीय विकास अग्री, दोलखाका २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरका २५ वर्षीय अनिल बुढा रहेका छन् ।
भदौ २४ मा उनीहरूले हतियार लुटेर प्रदर्शन गर्दै नयाँ बानेश्वर, कोटेश्वर प्रहरी प्रभाग र संसद् भवनमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
लुटिएको हतियार पछि नेपाली सेनालाई बुझाइएको बताइएको छ ।
हाल उनीहरूविरुद्ध आपराधिक उपद्रवको अभियोगमा अनुसन्धान भइरहेको छ ।























