काठमाडौं– पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ ।
सचिवालयका अनुसार सुवेदीले सामाजिक सञ्जालमार्फत् प्रचण्डको चरित्रहत्या गर्ने उद्देश्यले पूर्ण रूपमा गलत र आधारहीन प्रचारप्रसार गरेका छन् ।
उनले प्रचण्डको निवासमा आगजनी हुनुभन्दा दुई दिनअघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भनी सामाजिक सञ्जालमा सामग्री प्रवाह गरेका थिए ।
सचिवालयका अनुसार सो दाबी पूर्ण रूपमा तथ्यहीन र असत्य रहेको भन्दै यस्ता अभिव्यक्तिले पार्टी नेतृत्वमाथि भ्रम फैलाउने र जनमतलाई दिशाभ्रमित गर्ने उद्देश्य लिएको उल्लेख गरिएको छ ।
‘सामाजिक सञ्जालमार्फत् गलत जानकारी प्रवाह गरी चरित्रहत्या गर्नु गम्भीर साइबर अपराध हो,’ उजुरीमा भनिएको छ, ‘यस विषयमा आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दछौं ।’
सचिवालयका तर्फबाट हिजो साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको हो ।
ब्यूरोले उक्त उजुरीका आधारमा प्रारम्भिक छानबिन अघि बढाएको बताइएको छ ।
यसअघि पनि सामाजिक सञ्जालमा प्रचण्ड र माओवादी केन्द्रविरुद्ध विभिन्न आरोप र टिप्पणीहरू भइरहेका बेला पार्टीले त्यसलाई नियन्त्रित गर्न कानुनी बाटो अवलम्बन गर्ने चेतावनी दिएको थियो ।























