काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सफल हुन सकेन । नोबेल कमिटीले भेनेजुएलाकी लोकतान्त्रिक योद्धा मारिया कोरिना माचाडोलाई यो पुरस्कार शुक्रबार प्रदान गर्यो ।
नोबेल कमिटीका अध्यक्ष जोर्गन वाट्ने फ्राइडनेसका अनुसार, माचाडोलाई ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकार प्रवर्द्धन गर्न र तानाशाहीबाट शान्तिपूर्ण लोकतान्त्रिक यात्राका लागि निरन्तर संघर्ष गरेको’ कदरस्वरूप पुरस्कार दिइएको हो ।
माचाडोले राष्ट्रपति निकोलस माडुरोको शासनको आलोचना गर्दै आफ्नो सहयोगी एडमुन्डो गोन्जालेज उरुतियालाई समर्थन गरेकी थिइन् । अमेरिका गोन्जालेजलाई विजेता मान्दछ, तर माडुरोले सत्ता कायम राखेका छन् ।
ट्रम्पले दोस्रो कार्यकालमा सातवटा अन्तर्राष्ट्रिय द्वन्द्व रोक्न योगदान गरेको दाबी गर्दै नोबेल पुरस्कार पाउने आकांक्षा राखेका थिए । यसमा अजरबैजान–आर्मेनिया र भारत–पाकिस्तानबीचको द्वन्द्व समाधान उल्लेख थियो । तर, नोबेल कमिटीको निर्णय सम्भवत: गाजा सम्झौताअघि नै भइसकेको थियो ।
पूर्वराष्ट्रपति बाराक ओबामालाई ट्रम्पले ‘कुनै काम नगरी पुरस्कार पाएको’ भन्दै आलोचना गरेका थिए । उनले नर्वेका वित्तमन्त्रीलाई समेत फोन गरेर आफ्नो पक्षमा अभियान चलाउन आग्रह गरेका थिए ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्