काठमाडौं– नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा आसन्न राजनीतिक परिस्थितिमा निर्वाचनको तयारी र संसद् पुनर्स्थापनाको विकल्प दुवै खुला राखेर अघि बढ्नुपर्ने निष्कर्ष आएको छ ।
शुक्रबार सम्पन्न बैठकपछि पार्टीका प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेसले दुबै सम्भावनाका लागि तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।
उनका अनुसार, “संवैधानिक प्रावधानअनुसार यो सरकार वैधानिक देखिँदैन, तर निर्वाचनको मिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, त्यसैले जनतामा जानु भन्ने कुरा नकार्न सकिँदैन,” महतले भने ।
तर, उनले वर्तमान सरकारले निष्पक्ष र विश्वसनीय रूपमा चुनावको वातावरण बनाउन गम्भीरता देखाएको छैन भन्ने पार्टीभित्र व्यापक आशंका रहेको उल्लेख गर्दै भने, “सरकार चुनाव गराउने मनस्थितिमा छ कि छैन भन्ने कुरा हेर्नुपर्छ । त्यसैले संसद् पुनर्स्थापनाको विकल्प पनि खुला राखेर अघि बढ्नुपर्छ ।”























