काठमाडौं– जेनजी आन्दोलनका क्रममा राज्यद्वारा गरिएको बर्बर दमनमा १७ जना नयाँबानेश्वर र २ जना सुनसरीमा मारिएको आज (२३ असोज) एक महिना पूरा भएको छ ।
२३ भदौको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ युवाको मृत्यु भएपछि देशभर हिंसा भड्किएको र त्यसपछिका घटनाक्रमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएको थियो । ओली त्यसपछि बालुवाटारबाट सेनाको सुरक्षामा गुन्डु पुगेका थिए ।
घटनाको एक महिनापछि बिहीबार उनले देशलाई अस्थिरता र गृहयुद्धतर्फ धकेल्ने चेतावनीसहित उत्तेजक अभिव्यक्ति दिएका छन् ।
उनले जेनजी आन्दोलनपछिका घटनालाई “नाटक” भन्दै सरकारले बनाएको जाँचबुझ आयोग र त्यसको प्रतिवेदन नमान्ने घोषणा गरे । साथै, २१ फागुनमा हुने भनिएको निर्वाचनप्रति सरकारको कुनै स्पष्ट योजना नभएको र एमालेले पनि चुनावमा सहयोग नगर्ने बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध आक्रोश व्यक्त गर्दै ओलीले संसद् विघटनलाई असंवैधानिक भने । उनले कार्की नेतृत्वको सरकार र जाँचबुझ आयोगलाई ठाडो चुनौती दिँदै आयोगको प्रतिवेदन अस्वीकार गर्ने बताए । गृहमन्त्री ओमप्रकाश अर्याललाई “सम्हालिएर अघि बढ्न” सुझाव दिँदै उनले भने, “सुशीलाको डरले केपी ओली भाग्दैन।”
ओलीका अनुसार २४ भदौपछि नयाँ सरकार बनाउने सहमतिको क्रममा संसद् विघटन गर्ने निर्णयमा आफ्नो सहमति थिएन । उनले संविधान र संसद् कायम राख्दै राजनीतिक निकास खोज्नुपर्ने बताउँदै संसद् पुनःस्थापनाको मागलाई आफ्नो मुख्य एजेन्डा बनाउने घोषणा गरे ।























