images
images
  • एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बस्दै, आज गम्भीर रुपमा छलफल हुने

    काठमाडौँ । नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

    सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन । आजको बैठकमा आन्तरिक समस्याका विषयमा गम्भीर रुपमा छलफल हुने कार्यदल सदस्य भीम रावलले बताए ।

    उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक बताए । उनले समस्या समाधानका लागि कार्यदलमा उठेका विविध धारणाहरुका विषयमा आजको बैठक केन्द्रित हुने बताए ।

    ‘हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर आजको बैठकमा छलफल अगाडि बढाउँछौं,’ नेता रावलले भने, ‘ विमति भएका विषयमा विभिन्न कोणबाट आज पनि छलफल हुनेछ ।’

    पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

    यसैगरी नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

    यसअघि सोमबार पनि कार्यदलबीच छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images