चितवन । नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि भेट्टाउन सकेको छैन ।
बिनाका बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए । चितवन र गैंडाकोट प्रहरीलाई खबर गरे पनि अहिलेसम्म कुनै खोजखबर नभएको जायेश्वरले बताए ।
गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।
अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवाबिनाका प्रेमी भएको जानकारी दिए । चतवनमै ९ दिनदेखि वेपत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि शव फेला परेको थियो ।
घटना के थियो ?
बिना भरतपुर-४ यज्ञपुरीका सुजन (नाम परिवर्तन) सँग प्रेम सम्बन्धमा थिइन् । फेसबुकमार्फत चिनजान भएको ५ वर्ष भएको थियो । ९ महिना लण्डन बसेका सुजन दाजुको बिहेमा सहभागी हुन वैशाखतिर नेपाल आएका थिए । बेलाबखत विनाको घरमा पुगिरहन्थे । सुजन असार १४ गते खाजा खाएर विनाकै घरबाट साढे बजेतिर निस्केका थिए ।
अर्की युवती डिना (नाम परिवर्तन) ले स्कूल पढ्दादेखि नै सुजनलाई मन पराउँथिन् । डिना र सुजनको घर करिब १ किलोमिटर आसपासमा पर्छ । सुजनसँगै भएका बेला नयाँ म्यासेज देखेपछि बिनाले नै डिनालाई भेट गराउन दबाब दिइन् । डिनाको घरमा पुर्याएर गफिएपछि विना एक्कासी बेहोस बनिन् । सुजनले तत्कालै विनाका बुबालाई गरे ।
‘एक्लै नछाड, सँगै ल्याऊ’ बुबाले भने । तर, होस खुलेपछि विना एक्लै चौविसकोठीतिर लागिन् । सुजन स्कुटर लिएर पछि लागे । अन्ततः सुजनले फकाएर विनालाई स्कुटरमा राखे ।चौविसकोठीमा पुर्याएपछि चलाएको स्कुटर लैजान साथीलाई बोलाए । घर जान नमानेपछि सुजनले फेरी बुबालाई राति ८ बजेतिर फोन गरे ।
‘बाबा म आधा घण्टामा घर आइपुग्छु भनेर छोरीले भने पनि मन ढुक्क थिएन, तिमीले नै ल्याइदेउ, कि मै आउँछु भनेर उसलाई सम्झाएको थिएँ,’ विनाका बुबा जायेश्वर सम्झिन्छन् ।विनालाई ‘एक छिन पर्ख’ भनेर सुजन चौविसकोठीमा रहेको एटीएमतर्फ लागे । सुजनका अनुसार फर्केर आउँदा विना त्यहाँ थिइनन् ।
‘बुबा, विना हराइन्’ भन्दै सुजनको फोन पाएपछि बुबा जायेश्वर अटोमा चढेर नारायणगढ आए । सुजन अत्तालिदै अटो चढेर विनाको घरनजिकैको चोकनेर पुगे । फेरि फोनमा कुराकानी भएपछि दुबै भेटिए । राति १२ बजेसम्म सडक छेउछाउमा खोजे, तर भेटेनन् । त्यसपछि बुबाले गैडाकोट प्रहरीलाई खबर गरेर सुजन प्रहरी नियन्त्रणमा परे ।
विना र सुजन (परिवर्तित नाम) दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसीपमा रहेको इन्फो राखेका छन् । विनाको परिवार सुजनसँग बिहे गराउन तयार थियो । तर, केटापक्ष अहिल्यै बिहे गर्न नहतारिने पक्षमा थियो । केटापक्ष भने यी दुईबीच सम्बन्ध भए(नभएकोबारे अनभिज्ञ रहेको बताउँछन् ।
‘यो घटनाबारे म अनभिज्ञ छु, भोलिपल्ट साढे १० बजे तपाईको छोरा यहाँ छ भनेपछि बल्ल थाहा पाएँ,’ सुजनका बुबा भन्छन्, ‘अहिले दुबै परिवारले समन्वय गरेर विनाको खोजी गरिरहेका छौँ ।’
२३ वर्षिय छोरा अरोपित बनेकाले विना सकुसल फेला परुन् भन्ने कामना गर्दै खोजविनमा लागेका छन् दुवै परिवार । भरतपुर, गैडाकोट, बुटवल लगायतका ठाउँमा खोजी भइरहेको छ ।
चितवनमै ११ दिनदेखि वेपत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि शव फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीयले आन्दोलन गरिरहेका छन् ।


विश्व खबर 




















