काठमाडौं । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
एकता जोगाउन सिंहदरबारमा कार्यदलको वैठक चल्दै गर्दा अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । जनकपुरबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने दावी गरेका प्रचण्ड विमानस्थलबाट सिधैं नेपाल निवास पुगेका हुन् ।
एमालेको कार्यदलले ओली र नेपाललाई मिलाउन प्रयास गरिरहेको छ । आज बसेको कार्यदलले एकताका लागि मस्यौदा तयार गर्ने जनाइएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको ‘अल्टिमेटम’ अवधिमा पनि सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिएका नेता नेपाल पाँच दलीय विपक्षी गठबन्धनमा छन् ।


विश्व खबर 




















