दाङ : तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) को हत्या भएको १५ वर्ष पूरा भइसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
स्व. धिताल स्मृति प्रतिष्ठानले सोमबार तुलसीपुरमा गरेको कार्यक्रममा मानव अधिकारकर्मीलगायतले राज्य गम्भीर नबनेको गुनासो गरे। कार्यक्रममा मानव अधिकारकर्मी सुशील बस्नेतले उनको हत्याको कारण र हत्यारा अहिलेसम्म पत्ता नलाग्नु दुःखद भएको बताए।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरियाले हालसम्म पनि हत्याको कारण र हत्यारा पत्ता लगाउनु नस्कनु प्रहरी प्रशासनको ठूलो कमजोरी भएको बताए। उनले हत्यारा पत्ता लगाउन घटना भएदेखि अहिलेसम्म राज्यलाई दबाब दिँदा दिँदा थाकिसकेको बताए। प्रतिष्ठानका उपाध्यक्ष सुुरेश हमालले आफ्ना तत्कालीन अध्यक्ष धितालको हत्याराको पहिचान गरी सार्वजनिक गर्न माग गरे।
कार्यक्रममा स्व. धितालको अर्धकद शालिकमा आमा, श्रीमती र भाइ लगायतले माल्यार्पण गरे। त्यसपछि तुलसीपुर स्थीत मानव सेवा आश्रममा आश्रितहरूलाई बिहानको भोजन गराइयो।
यसअघि यही साउन २ गते स्व.धितालका भाइ पुष्कर, रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी र पत्रकार गणेश आचार्यले गृहमन्त्री रमेश लेखकलाई भेटेर छानविनलाई तिव्रता दिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
तत्कालीन राप्ती अञ्चल बस व्यवसायी समितिका अध्यक्ष समेत रहेका धितालको साबिक उरहरी गाविसको जसपुर भन्दा केही उत्तर हेमनगरमा अज्ञात समूहले २०६७ साउन ६ गते हत्या गरेको थियो ।























