भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले समाजसेवाबाट आत्मसन्तोष प्राप्त हुने बताएका छन्। सोमबार शिक्षण अस्पताल, महाराजगन्जलाई नयाँ भवन हस्तान्तरण गर्ने कार्यक्रममा उनले दान गर्ने भावना आफ्नो जीवनको मूल प्रेरणा भएको बताए।
गुरुङका अनुसार उनलाई दान र सेवा गर्ने संस्कार स्वर्गीय आमाबाट र जीवनका प्रारम्भिक दिनहरूमा भेटिएका एक योगीबाट प्राप्त भएको हो। “५० वर्षअघि एक योगीले भनेका थिए — धन कमाउने हो भने दान पनि गर्न जान्नुपर्छ,” गुरुङले सम्झिए, “त्यसपछि मैले महसुस गरेँ कि जीवनको साँचो सन्तोष दिने कुरा यही हो। मेरी आमा सधैं दान गरिरहनुहुन्थ्यो। त्यो संस्कार नै मैले आत्मसात् गरेँ।”
उनले स्पष्ट पारे कि राष्ट्र वा सरकारबाट केही पाउने आशामा होइन, जनताको मनमा बस्न सकिने विश्वासले गर्दा आफू समाजसेवामा लागिरहेकामा छन्। यही भावनाले गर्दा उनी अस्पताल, विद्यालय, छात्रवृत्तिदेखि आपत् विपत्का बेलामा राहत सहयोगसम्म सक्रिय रहँदै आएका छन्। टिचिङ अस्पताललाई नयाँ भवन हस्तान्तरण गर्नु उनको पछिल्लो समाजसेवी योगदान हो।
यसअघि पनि उनले बाल अस्पताल निर्माणका लागि बुढानीलकण्ठमा करोडौं रुपैयाँ सहयोग गरेका छन्। खोटाङमा विद्यालय निर्माणदेखि लिएर भूकम्पपछिको राहतमा एक करोड, कोरोना महामारीका बेलामा संघीय सरकारलाई एक करोड र सातै प्रदेशलाई छुट्टाछुट्टै २५ लाखका दरले राहत सहयोग गरेका छन्।
गत वर्ष बाढीपहिरोपीडितका लागि उनले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका थिए। पशुपति मन्दिरको भारतमा स्थापनाका क्रममा पनि उनको आर्थिक सहयोग रहेको थियो। साथै, इँटाभट्टामा काम गर्दै एसइईमा चार जिपिए ल्याएकी गोमा श्रेष्ठलाई एमबिबिएससम्मको छात्रवृत्तिका लागि पहल गरिसकेका छन्।
कार्यक्रममा बोल्दै गुरुङले भने, “मैले आजसम्म जे योगदान गरेको छु, त्यो कुनै लोभ या स्वार्थका लागि होइन। साँचो आनन्द भनेको अरूलाई दिने प्रयासमा छ भन्ने महसुसले गर्दा म समाजसेवामा सक्रिय छु।”


विश्व खबर 




















