काठमाडौं : बिजनेश रियालिटी शो शार्क ट्याङ्कको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल आजदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ।
शार्क ट्याङ्क नेपालको पहिलो संस्करणको हिजो भएको प्रिमियरमा कार्यक्रमका शार्क र शार्क ट्यांक इण्डियाका शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ताले आ–आफ्ना अनुभव सुनाए।
शार्क ट्याङ्क नेपालका ३ शार्कहरु वैद्य अर्गनाइजेशनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बागरिया र पद्यमज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले आफ्ना अनुभव र कार्यक्रमको औचित्यका विषयमा चर्चा गरेका थिए।
पहिलो सिजनमा आइएमई ग्रुपका सह–संस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेशनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बागरिया र पद्यमज्योती ग्रुपका निर्देशक सौरभ ज्योती सार्कका रुपमा रहेका छन्।
पहिलो सिजनमा झण्डै एक हजार पाँच सयभन्दा बढी उद्यमीले आवेदन गरेकोमा दुई चरणको छनौट प्रक्रिया पार गर्दै १ सय १० वटा उद्यमीले शार्कका अगाडि आफ्नो आइडिया प्रस्तुत गरेका छन्।
उद्यमीले शार्क मार्फत करिब ४० करोड रुपैयाँ बराबरको लगानी पाएका छन्। सन् २००१ मा जापानाको निप्पोन टिभीमा मनि टाइगर्सको रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठुलो बिजनेश रियालिटी शो बनेको छ।
नेपाली संस्करणको पहिलो सिजन हरेक हप्ता बुधबार र बिहीबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ।


विश्व खबर 




















