images
images
  • इरानमा १६ नेपाली : ११ जना उद्धारको तयारीमा, ५ जना जेलमा

    काठमाडौं– सरकारले युद्धग्रस्त मुलुक इरानमा १६ जना नेपाली नागरिक रहेको पुष्टि गरेको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सोमबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै ११ जना नेपाली इरानको मसाद भन्ने स्थानमा रहेको र बाँकी ५ जना गैरकानुनी रूपमा गएकाले जेलमा रहेको बताइन् ।

    ‘इरानमा १६ जना नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने ठाउँमा हुनुहुन्छ, भने ५ जना गैरकानुनी रूपमा गएकाले त्यहाँको जेलमा हुनुहुन्छ,’ मन्त्री राणाले भनिन् ।

    उनका अनुसार ११ जना नेपालीलाई मंगलबार भारतीय विमानमार्फत भारतसम्म ल्याइने तयारी गरिएको छ । ‘भारतले आफ्ना नागरिकहरूलाई उद्धार गर्दा नेपालीहरूलाई पनि उद्धार गर्न तयार भएकोले हामीले सहमति जनाएका छौँ,’ उनले संसदमा भनिन् ।

    ११ जनामध्ये एकजनाको ट्राभल डकुमेन्ट नभएकाले त्यसको प्रक्रिया सुरु गरिएको पनि मन्त्री राणाले जानकारी दिइन् । इरानको जेलमा रहेका पाँच जना नेपालीलाई कसरी कानुनी प्रक्रिया पु¥याएर स्वदेश फर्काउने भन्ने विषयमा आवश्यक पहल भइरहेको उनले उल्लेख गरिन् ।

    इरान र इस्राएलबीच चर्किएको तनावका कारण त्यहाँ रहेका विदेशी नागरिकहरू जोखिममा परेका छन् । यस्तो संवेदनशील समयमा गैरकानुनी रूपमा इरान पुगेका नेपालीहरूको अवस्था अझ जटिल बनेको छ । परराष्ट्र मन्त्रालयले उनीहरूको अवस्था बुझ्ने र सुरक्षित रूपमा स्वदेश फर्काउने प्रयासमा निरन्तर लागिरहेको जनाएको छ ।

    सरकारले नेपाली नागरिकलाई कानुनी प्रक्रिया पु¥याएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दै आएको छ । तर, अवैध रूपमा जोखिमपूर्ण देशहरूमा जाने क्रम नरोकिएकाले यस्ता घटनाहरू बारम्बार दोहोरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images