काठमाडौं– नेकपा (एमाले)को राष्ट्रिय कार्यकर्ता भेलाले के सन्देश दियो होला ? अहिले यो प्रश्न धेरै छ । यो भेलाको औचित्य के थियो होला ? अर्को प्रश्न उत्तिकै छ ।
यो भेलाको सन्देश र उत्तर एउटै थियो, सहभागीहरूको प्रवेश कार्डमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्णकदको तस्विर । यसभन्दा अघि एमालेको औपचारिक कार्यक्रममा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको माथि र तल सहभागीहरूको फोटो हुने गथ्र्यो ।
तर यसपटक कार्डमा न प्रतिनिधिको फोटो थियो, न तीन नेताको । ती सबैको साटो एउटै फाटो एमाले अध्यक्ष ओलीको थियो । त्यसले भेलास्थालमा प्रश्न पनि उठेको थियो । यो कार्ड प्रतिनिधि बाहिरका मानिसले भिरेर गए भने कसरी चिन्ने ? प्रतिनिधिको फोटो किन नराखेको ?
एक सहभागीको धारण थियो, यो भेला आगामी चुनावमा ओलीको आदेश भन्दा बाहिर नजान्नु भन्ने हप्काई दप्काई गर्ने कार्यक्रम हो ती सहभागीले भने जस्तै ओलीले त्यही ब्यबहार देखाएका थिए ।
उनले भेलामा कहिले ताली कम बजे भनेर र कहिले एमालेका पनि यस्ता लुते कार्यकर्ता हुन्छन्, जल्दा जाग्दा हुन्छन् भनेर औपचारिक मञ्चबाटै थकाई रहेका हुन्थे ।
देशभरीका चार हजार कार्यकर्ता जम्मा भएको सो भेलामा कसैले पनि कुनै कुरा बोल्न पाएनन् ।
नेतृत्वले जे–जे प्रस्ताव ल्याएका थिए तिनमा अल्छी लाग्दो तारिकाले ताली पिटेका थिए ।
२०८२ को चुनावमा देशका अधिकांश चुनाव क्षेत्रमा अध्यक्ष ओलीको फोटो कुनै पनि उम्मेदवारले प्रयोग गरेनन् ।
जहाँ जहाँ फोटो प्रयोग गरे ती आधिकांश क्षेत्रमा चुनाव हारे ।
तर यस पटककको भेलामा त्यो बेला कार्यकर्ता र मतदाताबाट अनुमोदन नभएको ओली फोटोको अनुमोदन भएको धेरै सहभागीको टिप्पणी छ ।
२१ बुँदे सकल्प प्रस्तावमा समेत केही छोडेर अरु बुँदा कुनै नयाँ नभएको एमालेका नेताहरु बताउँछन् ।
एमालेभित्र लामो समयदेखि उठ्दै आएको पार्टीको पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दासमेत भेलमा हराएको देखियो ।
यसका पक्षधरलाई जवाफ दिन अध्यक्ष ओलीले नेकपाका संस्थापक पुस्पलालसहितका नेताहरूको र फोटो विस्थापित गर्दै आफ्नो पूर्ण कदको फोटो प्रतिनिधिकार्ड र भेलामा राखेका थिए ।
यद्यपि भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ ।






















