काठमाडौं– इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ ।
‘यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो । उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।
इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ । सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतङ्कवादी सङ्गठन’ को रूपमा वर्णन गरेका थिए । इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
इरानले विशेषगरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायहरूसँग संलग्न रहेको देखिएका वा आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गरी राष्ट्रघात गरेको आरोपमा बर्षौँ जेल र मृत्युदण्डसमेत दिने घोषणा गर्ने गरेको छ ।
आइतबार अधिकारीहरूले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए । सोही दिन, न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।
न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सरकारी टेलिभिजनसँग भने, ‘सुरक्षासँग सम्बन्धित मुद्दाहरू, विशेष गरी इजरायललाई समर्थन गर्ने र शत्रुको पाँचौं स्तम्भको रूपमा काम गर्ने मुद्दाहरूलाई अझ छिटो समाधान गरिनेछ ।’
एम्नेस्टी इन्टरनेसनललगायतका मानवअधिकारवादी समूहका अनुसार इरानमा विश्वकै अत्यधिक धेरै सङ्ख्यामा मृत्युदण्ड दिइने गरिएको छ । –रासस


विश्व खबर 




















