images
images
  • अमेरिकाले इरानको आणविक भट्टीमा किन गर्‍यो बमवर्षा ? कति भयो क्षति ?

    काठमाडौं– इसराइल–इरानबीचको चुलिँदो तनावमा अब अमेरिका पनि प्रत्यक्ष रूपमा सहभागी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका प्रमुख तीन आणविक परियोजनामाथि आक्रमण गरिएको घोषणा गरेका छन् ।

    उनका अनुसार अमेरिकी बमवर्षक विमानहरूले नतान्ज, फर्दो र इस्फहानस्थित इरानी आणविक संरचनाहरूमा हमला गरेर सुरक्षित रूपमा फर्किएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा बहादुर सैनिकहरूलाई बधाई छ । अब शान्तिको समय हो ।’

    हालसम्म अमेरिकी आक्रमणबाट कति क्षति पुगेको छ भन्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन । तर, इरानमाथिको आक्रमणले मध्यपूर्वको संकटलाई अझ गम्भीर बनाउने अन्तर्राष्ट्रिय विश्लेषकहरूको चिन्ता देखिएको छ ।

    अमेरिकी आक्रमणको पृष्ठभूमि

    इरानका गहिरा भूमिगत आणविक संरचनाहरू ध्वस्त पार्न इसराइलको क्षमताले मात्र नपुग्ने भएपछि, उसले लामो समयदेखि अमेरिकालाई हस्तक्षेप गर्न आग्रह गर्दै आएको थियो ।
    यसपटक अमेरिकी सेनाले बंकरभेदी भनेर चिनिने १४ टन क्षमताको जिबियु–५७ बम प्रयोग गरेको आशंका गरिएको छ । यो बम विशेषगरी भूमिगत संरचनाहरू ध्वस्त पार्न प्रयोग गरिन्छ । यद्यपि, अमेरिकी सेनाले कुन बम प्रयोग ग¥यो भन्ने आधिकारिक पुष्टि गरिएको छैन ।

    लक्षित संरचनाहरू

    नतान्ज

    तेहरानदेखि २५० किलोमिटर दक्षिणमा अवस्थित नतान्ज इरानको सबैभन्दा ठूलो युरेनियम सम्बद्र्धन सुविधा हो । यहाँ युरेनियमलाई परमाणु इन्धनमा रूपान्तरण गर्ने प्रविधि र सेन्ट्रीफ्यूजहरूको निर्माण हुन्छ ।

    सीएनएनका अनुसार यहाँ ६ वटा जमिनमाथिका भवन र ३ वटा भूमिगत संरचना छन् । जसमा करिब ५० हजार सेन्ट्रीफ्यूज राख्न मिल्ने क्षमता छ ।

    अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले नतान्जमा ६० प्रतिशत शुद्धतासम्म युरेनियम सम्बद्र्धन भइरहेको जानकारी दिएको छ ।

    फर्दो

    कोम सहरनजिक रहेको फर्दो परियोजना पहाडमुनि अवस्थित छ । यस परियोजनाको गहिराइ २६२ देखि २९५ फिटसम्म रहेको बताइन्छ । यस्तो संरचना नष्ट गर्न सक्ने क्षमता हाल अमेरिकासँग मात्र छ ।

    यहाँ पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन भइरहेको बताइएको छ, र २,७०० सेन्ट्रीफ्यूज सक्रिय छन् ।

    इस्फहान

    मध्य इरानमा रहेको इस्फहानको आणविक भट्टी सबैभन्दा ठूलो अनुसन्धान केन्द्र मानिन्छ । १९८४ मा चीनको सहायतामा स्थापना गरिएको यो संरचनामा तीन हजारभन्दा बढी वैज्ञानिक कार्यरत छन् ।

    इस्फहानमा चिनियाँ अनुसन्धान रियाक्टर, इन्धन उत्पादन प्लान्ट, जिरकोनियम क्ल्याडिङ प्लान्टसहितका विविध सुविधा छन् ।

    इरानको प्रतिक्रिया र सम्भावित नतिजा

    हालसम्म इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर यसअघि इरानले चेतावनी दिँदै अमेरिकाले हमला गरे त्यसको जवाफमा क्षेत्रका अन्य मुलुकमा रहेका अमेरिकी सैन्य संरचनामाथि हमला गर्ने बताइसकेको थियो ।

    ट्रम्पले आगामी आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिका फेरि हमला गर्ने वा नगर्ने निर्णयबारे जानकारी दिने घोषणा गरेका छन् ।

    यस आक्रमणले इसराइल–इरान तनावलाई सशस्त्र संघर्षमा रुपान्तरण गर्दै, समग्र मध्यपूर्वमा अस्थिरता फैलाउने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images