काठमाडौं– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका दुई भवन राजधानी तेहरानको नजिकैको कराजमा नष्ट भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले बुधबार बताएको छ ।
इजरायली सेनाले तेहरान र वरपरका क्षेत्रमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताएको केही घण्टापछि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको यो घोषणा आएको हो ।
‘इरानका दुईवटा सेन्ट्रिफ्युज उत्पादन केन्द्र, टेसा कराज कार्यशाला र तेहरान अनुसन्धान केन्द्रमा आक्रमण भएको आइएइएसँग जानकारी छ,’ आइएइएले एक्समा एक पोस्टमा भनेको छ, ‘दुवै स्थल पहिले जेसिपिओएको भागका रूपमा आइएइए निगरानी र प्रमाणीकरण अन्तर्गत थिए ।’ जेसिपिओले इरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ को सम्झौतालाई जनाउँछ ।
‘तेहरानको एक स्थलमा भएको अर्को आक्रमणमा एक भवनमा आक्रमण भयो जहाँ उन्नत सेन्ट्रिफ्यूज रोटरहरू निर्माण र परीक्षण गरिन्थ्यो,’ एजेन्सीले एक्समा अर्को पोस्टमा भनेको छ ।
केही घण्टाअघि एक इजरायली सैन्य वक्तव्यले तेहरान क्षेत्रमा आफ्नो हवाई आक्रमणको वर्णन गरेको थियो ।
‘इरानको आणविक हतियार विकास कार्यक्रममा बाधा पु¥याउने व्यापक प्रयासको एक हिस्साका रूपमा तेहरानको सेन्ट्रिफ्युज उत्पादन सुविधालाई लक्षित गरिएको थियो,’ इजरायली सेनाले भनेको छ । –रासस


विश्व खबर 




















