काठमाडौं– स्याङ्जामा आँधीखोला दोहनविरुद्ध अभियान सञ्चालन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतामाथि वडाध्यक्षबाट आक्रमण भएको छ ।
वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रास्वपा केन्द्रीय सदस्य मेघ आले र स्थानीय नेता दिनकर नेपालमाथि रड प्रहार गरेका हुन् ।
पीडित पक्षका अनुसार मंगलबार आँधीखोलाको अवैध उत्खनन् रोक्न बनाइएको संघर्ष समिति गठन गरेर फर्किने क्रममा वालिङ–९ सुर्कौंदीमा बाटो छेकेर वडाध्यक्षले उनीहरूलाई आक्रमण गरेका थिए ।
नेपालले आफूलाई पहिले पनि धम्की दिने गरिएको र हेल्मेट लगाएका कारण ज्यान जोगिएको बताएका छन् ।
घटनापछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वडाध्यक्ष खनाल फरार छन् र उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले घटनाबारे बुझ्न बुधबार बिहान नगरस्तरीय छलफल भएको जानकारी दिए ।
यसबीच संघर्ष समितिले तीन बुँदे माग सार्वजनिक गर्दै, नदीजन्य पदार्थको उपयोगबारे स्पष्ट नीतिको माग गरेको छ ।
साथै, उत्खननसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न र तटबन्ध निर्माणमार्फत कृषियोग्य भूमि जोगाउन पनि माग राखिएको छ ।























