images
images
  • मर्न हिँडेका डाक्टरले गृहमन्त्रीलाई भेटे, के भयो कुरा ?

    काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा अलबिदा भन्दै मार्मिक सन्देश लेखेर सम्पर्कविहीन भएका डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । मंगलबार बिहान उनी गृहमन्त्री निवास, भैँसेपाटी पुगेर मन्त्री लेखकसँग भेट गरेका हुन् ।

    गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा डा.श्रेष्ठले कार्यक्षेत्रमा भोग्नुपरेको प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका विषयमा गुनासो गरेका थिए । ती गुनासोहरू गम्भीर सुनिएपछि गृहमन्त्री लेखकले उनलाई कुनै पनि असहज परिस्थितिको सामना आत्मबल र धैर्यका साथ गर्न सुझाव दिएका थिए ।

    डा.श्रेष्ठ सोमबार बिहान फेसबुकमा एक भावुक सन्देश लेख्दै ‘अलबिदा’ भनेपछि सम्पर्कविहीन भएका थिए । त्यसपछि उनी हराएको सूचना सार्वजनिक भएको थियो । प्रहरीको सक्रियतामा उनलाई काठमाडौंको बालाजु क्षेत्रबाट सकुशल फेला पारिएको थियो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका डा.श्रेष्ठ रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी कार्यरत थिए । केही दिनअघि मात्रै उनको सरुवा हेटौँडास्थित अस्पतालमा भएको थियो । फेसबुक पोस्टमार्फत उनले आफू कार्यरत रामेछाप अस्पतालमै अमानवीय व्यवहार, चरित्र हत्या र मानसिक उत्पीडनको शिकार भएको उल्लेख गरेका थिए ।

    उनको उक्त सन्देशले स्वास्थ्य क्षेत्रका कर्मचारीहरू, नागरिक समाज र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ गहिरो चासो र चिन्ता उत्पन्न गराएको थियो । अहिले उनी सुरक्षित रहे पनि उनको मानसिक स्वास्थ्य, न्यायको प्रत्याभूति र दोषीको पहिचानबारे राज्यले गम्भीर चासो लिनुपर्ने आवाजहरू उठ्न थालेका छन् ।

    गृहमन्त्रीसँगको भेटपछि डा.श्रेष्ठले आफूलाई सुनिएकोमा कृतज्ञता प्रकट गर्दै यस्ता घटनाको दोहोरिन नदिने वातावरण बन्ने अपेक्षा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images