images
images
  • प्रहरी इतिहासमा पहिलो पटक दलित डीआईजी: डम्बरबहादुर विकको संघर्ष र सफलता

    काठमाडौं – नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलोपटक दलित समुदायबाट डम्बरबहादुर विक नायब प्रहरी महानिरीक्षक (डीआईजी) पदमा नियुक्त भएका छन्। उनको यो नियुक्ति व्यक्तिगत रूपमा मात्र ठूलो उपलब्धि नभएर लामो समयदेखि उत्पीडनमा पारिएको दलित समुदायका लागि पनि संस्थागत रुपमा महत्त्वपूर्ण मानिन्छ।

    संघर्षपूर्ण यात्रा : बाल्यकालदेखि अनुसन्धान विभागसम्म

    २०२७ माघ २० मा दाङमा जन्मिएका डम्बरबहादुर विकको जीवन संघर्षले भरिएको छ। उनले पाँच कक्षा पढ्दापढ्दै आमा–बुबा गुमाए। बाल्यकालदेखि नै अभाव र कठिनाइसँग जुध्दै आएका विकको हेरचाह उनका दाजु खड्गबहादुर सुनारले गरे। दाङ सदरमुकाम घोराहीमा माध्यमिक तहको अध्ययनपछि दाजुको प्रेरणाले उनी काठमाडौँ अध्ययन गर्न आए। यहींबाट सुरु भयो उनको देशसेवाको लागि होमिने यात्रा।

    २०५३ पुस ५ मा उनी राष्ट्रिय अनुसन्धान विभागमा अधिकृत पदमा नियुक्त भए। चार वर्षपछि २०५७ सालमा नेपाल प्रहरीमा इन्स्पेक्टरका रूपमा समायोजित भए।

    प्रहरी सेवा प्रवेश र बढुवा यात्रा

    विकको करियरको विश्लेषण गर्दा उनी पूर्णतः खुला प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका एक दुर्लभ उदाहरण हुन्। इन्स्पेक्टर हुँदा उनले सुर्खेत, सिरहा, काठमाडौंको फर्पिङ लगायत स्थानहरूमा सेवा गरे। २०६४ पुस ३० मा प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएपछि धादिङ, प्यूठान, र ओखलढुंगामा प्रमुखको जिम्मेवारी सम्हाले। यी तीनै जिल्लामा दलित समुदायबाट प्रमुख हुने उनी पहिलो व्यक्ति बने।

    २०७४ साउन ३० मा प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि उनले लुम्बिनी प्रदेश ट्राफिक कार्यालय र धादिङ जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाले। एसपीपछिका उनी दोस्रो दलित प्रमुख हुन् । यसअघि गोविन्दराम परियार एसपी बनेका थिए।

    २०७९ साउन २५ मा विक एसएसपीमा बढुवा भए। त्यसपछि विपद् व्यवस्थापन महाशाखाको प्रमुख बनेर बझाङ र जाजरकोटको भूकम्प राहत तथा उद्धारमा नेतृत्वदायी भूमिका निभाए। यस्तै, हिमाली उद्धारका लागि विशेष प्रशिक्षित प्रहरी बल उत्पादनमा उनी अगुवा रहे।

    डीआईजीसम्मको यात्रा र पदस्थापन

    २०८१ मंसिर ९ मा गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिले डम्बरबहादुर विकसहित ८ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्यो। मंसिर १७ मा मन्त्रिस्तरीय निर्णयबाट उनी डीआईजीमा बढुवा भए। त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीसहित धनगढी पठाइयो।

    डीआईजी बढुवाअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा निमित्त प्रमुखको भूमिकामा थिए। यसअघि एआईजी बुद्धिराज गुरुङ अवकाशमा गएपछि विकले केही समय कार्य विभागको निमित्त प्रमुखको भूमिका पनि निभाएका थिए।

    dambar bahadur DIG

     

     

    एआईजी र आईजीको सम्भावना, तर अन्यायको गुनासो

    ५४ वर्षीय विकसँग अझै डेढ वर्ष सेवा अवधि बाँकी छ। डीआईजी र एआईजीको ५६ वर्षे अवकाश सीमा अनुसार उनी २०८३ पुस ५ मा अनिवार्य अवकाशमा जानेछन्। तर प्रहरी संगठनमा उनले भोगेको बढुवा प्रक्रियाको असमानताबारे चर्चा भइरहेको छ।

    उनीभन्दा पछि सेवा प्रवेश गरेका दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी ६ महिनाअघि डीआईजी हुँदै हाल एआईजी भइसकेका छन्। विक भने उनीहरूसँगै एसएसपी बढुवा भए तापनि डीआईजीमा ढिलो बढुवा भएका कारण आईजीको प्रतिस्पर्धामा कमजोर बन्न पुगेका छन्।

    न्यायमा पहुँच नभएकाको आवाज बन्ने अठोट

    विक प्रहरी संगठनमा व्यावसायिक, इमानदार र अनुशासित अधिकृतको छवि बनाउँदै आएका छन्। उनले भने, ‘अहिलेको बढुवापछि संगठन प्रमुखले चलाएको आन्तरिक शुद्धीकरण र नागरिक मैत्री अभियानले सार्थकता पाएको महसुस गरेको छु।’

    उनका अनुसार न्यायमा पहुँच नभएकालाई न्याय दिन प्रहरी संगठनको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। संगठनमा सुधार ल्याउन वर्तमान नेतृत्वले देखाएको दृष्टिकोण सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए।

    दलित समुदायको लागि प्रेरणाको स्रोत

    विकको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो सामाजिक न्याय, समान अवसर र संस्थागत समावेशीताको सशक्त प्रतीक हो। ऐतिहासिक रूपले छेउमा पारिएको समुदायबाट आइज डीआईजीजस्तो जिम्मेवार पदमा पुग्नुले प्रहरी संगठनको विविधता र समावेशी स्वरूपलाई पनि बल दिएको छ।

    डम्बरबहादुर विकको जीवनयात्रा नेपाली समाजमा संस्थागत असमानताका विरुद्धको संघर्ष र उपलब्धिको प्रतीक हो। उनीजस्ता व्यावसायिक र प्रतिबद्ध अधिकृतहरूको नेतृत्वले प्रहरी संगठनलाई अझ नागरिकमैत्री, उत्तरदायी र न्यायसम्मत बनाउने सम्भावना बलियो देखिन्छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images