images
images
  • अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीश पक्राउ

    अमेरिकामा अवैध आप्रवासीलाई भगाएको आरोपमा न्यायाधीश पक्राउ परेका छन् ।

    अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ)ले शुक्रबार विस्कन्सिनस्थित मिल्वाउकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हन्नाह दुगानलाई पक्राउ गरेको हो ।

    उनीमाथि मेक्सिकोका अवैध आप्रवासीलाई भगाउन खोजेको आरोप छ ।

    गत अप्रिल १८ मा मेक्सिकोका अवैध आप्रवासी भनिएका एडवार्डो फ्लोरेस रूइजलाई पक्राउ गर्न एफबिआइका अधिकारीहरू अदालत पुगेका थिए ।

    तर न्यायाधीश दुगानले पक्राउका लागि एफबिआइका अधिकारीहरूसँग भएको कागजात पर्याप्त नहुने र छुट्टै वारेन्ट चाहिने भनेर फर्काइदिएकी थिइन् ।

    त्यतिबेला फ्लोरेसमाथि घरेलु हिंसा मुद्दामा सुनुवाइ भइरहेको थियो ।

    एफबिआइका अधिकारीहरुले फ्लोरेसलाई अदालतबाटै पक्राउ गर्न खोजेका थिए । त्यसका लागि न्यायाधीश दुगानसँग अनुमति मागेका थिए ।

    तर दुगानले एफबिआइ अधिकारीहरूलाई सुनुवाइ भइरहेको भनेर बाहिर जान निर्देशन दिएकी थिइन् ।

    अमेरिकी मिडिया सिएनएनका अनुसार न्यायाधीश दुगानमाथि एफबिआइका अधिकारीहरुलाई एउटा ढोकाबाट बाहिर पठाएर अभियुक्त भनिएका फ्लोरेसलाई अर्को ढोकाबाट ‍भगाएको आरोप छ ।

    फ्लोरेसलाई अर्को ढोकाबाट निस्किएर भाग्दै गरेको अवस्थामा एफबिआइ अधिकारीहरुले समात्न सफल भएको भनेर एफबिआइ प्रमुख काश पटेलले बताएका छन् ।

    ‘न्यायाधीश दुगानले नियतवश नै एफबिआइ अधिकारीहरूलाई अभियुक्तलाई पक्राउ गर्न नदिएको पुष्टि भएको छ। धन्न हाम्रा अधिकारीहरूले लखेटेर भए पनि समात्न सफल भए,’ पटेलले भनेका छन् ।

    पक्राउ परेका फ्लोरेस अहिले हिरासतमा रहेको उनले बताएका छन् । साथै न्यायाधीशको भूमिकाले आम नागरिकमा खतरा उत्पन्न गराउन सक्छ समेत भनेका छन् ।

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डी केही न्यायाधीशहरू कानूनभन्दा माथि भएको ठान्ने गरेको तर त्यस्तो नहुने बताएकी छन् ।

    एफबिआइले पक्राउ परेकी न्यायाधीश दुगानलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो । उनलाई अदालतले तत्कालका लागि रिहा गरी मे १५ मा अर्को सुनुवाइ तोकेको छ ।

    यो घटनाले आप्रवासी नीतिलाई लिएर ट्रम्प प्रशासन कति कठोर छ भन्ने उजागर भएको भनेर सिएनएनले लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images