काठमाडौं – जिल्ला सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट लगातार खसेको पहिरोले बेनी नगरपालिका–८ न्युरोडका १२ घरमा क्षति पुर्याएको छ । पहिरोका कारण छ घरमा लेदोसहितको माटो पसेर बस्न नमिल्ने भएका छन् भने अन्य छ घरमा आंशिक क्षति पुगेको छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको न्युरोडस्थित खोरियाको पाखोबाट बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
पाखोमा रहेका पानीका मुहानबाट भूमिगत पानी बगेसँगै पहिरो खसेको र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
“बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ,” नगरप्रमुख केसीले भने, “थप क्षति हुन नदिन प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ ।”
पहिरोको जोखिम बढेपछि न्युरोडका बासिन्दाले गएराति नै घर छाडेका थिए । पहिरो प्रभावित क्षेत्रका कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयबाट महत्वपूर्ण सामग्री तथा कागजपत्रसमेत सुरक्षित स्थानमा सारिएको नगरप्रमुख केसीले बताए ।
बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षाकर्मीको टोलीले जोखिममा रहेका घरबाट सामान निकालेर सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ । पहिरोको त्रासका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका थिए।
स्थानीय चिरञ्जीवी शर्माका अनुसार पहिरो खस्ने क्रम बढेपछि न्युरोडवासीमा त्रास फैलिएको छ। प्रभावित घरमा डेरा गरी बस्ने परिवारका लागि खानाको व्यवस्था गरिएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए ।
उनका अनुसार पछिल्लो चार दिनदेखि पाखोमा जमिन चिरा पर्ने क्रम बढिरहेको थियो। बुधबारदेखि भने चिरिएको जमिनबाट पहिरो खस्न थालेको हो ।
करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रमा रहेको खरबारी चिराचिरा परेर फुटेको वडाध्यक्ष कर्माचार्यले बताए। पहिरोका कारण पाखाका रूखहरू ढलेका तथा ढल्किएका छन् । पानीको मुहान रहेको स्थानबाट सुरु भएको पहिरोले पाखाको तल र माथि दुवैतर्फ असर पुर्याएको छ ।
पहिरोले बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत चुँडिएको र विभिन्न स्थानमा भाँचिएको छ । यसले पहिरोको जोखिमसँगै खानेपानी आपूर्तिमा समेत समस्या निम्त्याएको छ ।
पहिरो थप फैलिन सक्ने जोखिमका कारण न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले प्राविधिक अध्ययनलाई प्राथमिकता दिएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको बताए ।
भूगर्भविद्को अध्ययन र सुझावका आधारमा पहिरोको थप जोखिम तथा सम्भावित क्षतिको आकलन गरिने उनले बताए । सम्भावित दुर्घटना रोक्न र जोखिम कम गर्न पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।


विश्व खबर 



















