काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका नाममा दर्ता भएका सवारीसाधन तत्काल बुझाउन सूचना जारी गरेको छ ।
समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा सम्बन्धित संस्थाका नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा समितिको कार्यालयमा बुझाउन भनेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार समस्याग्रस्त घोषणा भएका सहकारी संघसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिलाई तोकिएको छ । सोही जिम्मेवारीअन्तर्गत सहकारी तथा सम्बन्धित संस्थाको स्वामित्वमा रहेका सवारीसाधनको विवरण संकलन तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
समितिले जारी गरेको सूचनामा तोकिएको निर्देशन पालना नगरे सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । सवारीसाधन प्रयोग गर्ने व्यक्ति वा सम्बन्धित व्यक्ति तथा संस्थाको घरजग्गा, बैंक खाता, लकर र राहदानीसमेत रोक्का राख्न सकिने समितिले जनाएको छ ।
त्यसैगरी, प्रचलित कानुनबमोजिम आवश्यक अन्य कारबाहीसमेत अघि बढाइने समितिको सूचनामा उल्लेख छ ।
समितिले सवारीसाधन बुझाउनुपर्ने समस्याग्रस्त सहकारीको सूचीसमेत सार्वजनिक गरेको छ । सूचीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कृषि विकास बहुउद्देश्यीय सहकारी, प्यालिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, प्रभु बचत तथा ऋण सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, लुःनिभा बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ओरेन्टल को–अपरेटिभ र नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।
समितिले सम्बन्धित सहकारी, संस्था तथा सवारीसाधन प्रयोगकर्तालाई सूचना पालना गरी तोकिएको प्रक्रियाअनुसार सवारीसाधन बुझाउन आग्रह गरेको छ ।


विश्व खबर 



















