नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरू प्रभावित हुने बताएका छन् । गत शुक्रबार काठमाडौँको तीनकुनेमा प्रदर्शनको क्रममा राजावादी समूहले गरेको निजी एवं सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति नेपाल चेम्बर अफ कर्मले आपत्ति जनाएको हो ।
अध्यक्ष अग्रवालले प्रदर्शनको नाममा गरिएका लुटपाट, तोडफोड र आगजनीका घट्नाहरु सह्य नहुने भन्दै आपत्ति जनाए । उनले उक्त घट्नाले उद्योगी व्यवसायीहरुको मनोबल खस्किनुका साथै समग्र मुलुककै अर्थतन्त्रमा समेत ठुलो नकारात्मक असर पर्ने बताए । सरकारको सुरक्षा व्यवस्थापन कमजोरीको कारण ठुलो जनधनको क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।
अध्यक्ष अग्रवालले सार्वजनिक तथा निजी सम्पत्ति सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताए । सरकारले चुस्त सुरक्षा व्यवस्थापन गरेर मात्र अगामी दिनहरूमा प्रदर्शन गर्ने अनुमति दिनुपर्ने समेत उनको माग छ । उनले मुलुकको अर्थतन्त्र धराशायी भएको र बिस्तारै लगानीमैत्री वातावरण निर्माण भइरहेको अवस्थामा भएको उक्त उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरू समेत प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरे । उनले राजावादीहरूको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिबारे गम्भीर हुँदै सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने बताए ।
उनले भने, ‘अर्थतन्त्र केही सुधारउन्मुख अवस्थामा जाँदा व्यवसायीहरूमा उत्साह थपिएको बेलामा फेरि यस प्रकारका तोडफोड, लुटपाट र आगजनी जस्ता घटनाहरूले निश्चय नै उद्यमीहरूको मनोबलमा नकारात्मक प्रभाव पारेको हुन्छ । सरकारले पनि यस प्रकारका क्रियाकलापहरू हुन दिनु हुँदैन । निजी तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी सरकारको हो । साथै सरोकारवाला निकायहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने यो सबै देशको सम्पत्ति हो । यस्तो अवस्थामा संयमतापूर्वक आफ्ना मागहरु राखेर प्रदर्शनहरु गर्ने उहाँहरुको अधिकारको कुरा हो । तर लुटपाट, तोडफोड र आगजनीजस्ता घटनाहरु कुनैपनि अवस्थामा निजी क्षेत्रको लागि सह्य हुदैनन् । अहिलेको परिस्थिति आउनुमा सरकारको तर्फबाट सुरक्षा कमजोरी पनि भएको छ ।’
बीमा नगरिएका व्यवसायिक प्रतिष्ठानहरुमा भएको क्षतिको मूल्याङ्कन गरी सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष अग्रवालको माग छ ।


विश्व खबर 




















