काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल, पहाड र तराईमा रहेका नदी किनारका बस्ती सधैँ प्राकृतिक विपत्तिको जोखिममा रहने भएकाले त्यसको दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल भूकम्पीय जोखिम क्षेत्रसमेत भएको चर्चा गर्दै उनले सानाठूला हरेक भूकम्पले नयाँ हिमताल निर्माण गर्ने र पुरानो विस्फोट गराउने सम्भावनालाई समेत ख्यालमा राख्दै त्यस्ता घटनाबाट हुने विपत्को सामना गर्ने गरी तयारी थाल्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको १९औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विपत्को सामना गर्न विगतका प्राकृतिक विपत्तिका घटनाको अध्ययन, भौगोलिक बनावटको वैज्ञानिक अनुसन्धान गरी भविष्यमा हुनसक्ने दुर्घटनाको ख्याल गरी जोखिम न्यूनीकरणको तयारी थाल्नुपर्छ ।’
उनले प्राकृतिक विपत्ति कहिले कसरी आइलाग्छ भन्ने विषय मानव समाजको नियन्त्रणभन्दा बाहिर भएकाले त्यसबाट हुनसक्ने मानवीय र भौतिक क्षति रोक्ने तयारी मात्र गर्न सकिने बताए । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणमा प्राप्त अनुभवसमेतलाई ध्यानमा राखी ‘राष्ट्रिय भवन संहिता’ मा परिमार्जन गरिएको जानकारी दिए ।


विश्व खबर 


















