images
images
  • ‘हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग’

    हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सांसदहरूले माग गरेका छन् । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

    हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरीहरू समेत विदेशी एयरलाइसन्सको प्रयोग गर्न बाध्य रहेको उनीहरूको भनाइ छ ।

    बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल आउन महँगो हुने तर यहाँ आइसकेपछि सस्तो हुने भएको कारण पर्यटकहरुमा समेत नकारात्मक प्रभाव पर्ने बताए । उनले पर्यटकलाई नेपाल आउन सस्तो गर्न सकेको अवस्थामा नेपाल आएर महँगो खर्च गर्नसक्ने बताए । उनले अमेरिका, थाइल्याण्ड लगायतका मुलुकहरूमा हवाई भाडा सस्तो र त्यहाँ हुने खर्च महँगो रहेको उल्लेख गर्दै नेपालमा ठिक उल्टो भइरहेको बताए । उनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा एयर फेयरसम्बन्धी नीति र करको विषयलाई सम्बोधन गर्न आग्रह गरे ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विमानस्थल भन्सार कार्यालयहरु ८/१० जना भन्सार एजेन्को कब्जामा रहेको टिप्पणी गरे । उनले ७ सयभन्दा बढी भन्सार एजेन्टहरु रहेको अवस्थामा देशभरका विमानस्थलहरुमा ८/१० जना एजेन्टले मात्र चलाइरहेको बताए । उनले विदेशमा बसेर समेत नेपालमा विमानस्थल भन्सार कार्यालय कब्जा गरिएको उल्लेख गर्दै मन्त्रालयको मिलोमतोमा त होइन भन्दै प्रश्न गरे । भन्सार एजेन्टको उचित व्यवस्थापनको लागि उनले मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुँजीगत खर्च बढाउनुपर्ने बताए । उनले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु चिन्ताजनक विषय रहेको बताए । उनले निजगढ विमानस्थलमा किन प्रगति भएन भन्दै प्रश्न समेत गरे । उनले सरकारले प्राथमितका साथ काम गरिरहेको भनेको निजगढ विमानस्थलको प्रगति शून्य जस्तै भएको तर्क गरे । उनले नेपाल आउने पर्यटकको तथ्यांक मन्त्रालयले देखाएको तथ्यांकसँग मेल नखाने समेत बताए ।

    कांग्रेसका सांसद विमलेन्द्र निधिले जनकपुर विमानस्थललाई स्तरोन्नति गर्न माग गरे । उनले मूलक संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशमा क्षेत्रीय विमानस्थलहरू घोषणा गरिएपनि मधेस प्रदेशको राजधानीमा रहेको जनकुपुर विमानस्थलको काम हुननसकेको बताए ।

    समितिको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं अगामी आर्थिक वर्षको योजना, रणनीति एवं कार्यक्रमको बारेमा छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images